कांग्रेस र एमालेद्वारा राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश; प्रचण्डलाई प्राप्त भएन विश्वासको मत : गुम्यो प्रधानमन्त्री पद

काठमाडौं, असार २८ गते । सत्ता सहकार्यमा जोडिनुभएका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) का नेता तथा सांसदहरुले नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राति दावी पेश गर्नुभएको छ ।

राष्ट्रपति निवास पुगेर दुई दलका नेताहरुले सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको दावी पेश गर्नुभएको हो । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार दुई दलका बहुमत सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको दाबी पेश गरिएको छ । कांग्रेसको ८८ र एमालेको ७८ सहित १६६ सांसदको हस्ताक्षरमा दाबी पेश गरिएको उहाँले जानकारी दिनुभयो ।

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीको संयुक्त हस्ताक्षरमा सरकार गठनको दाबी पेश गरिएको छ । पेश गरिएको दाबीमा भनिएको छ, “प्रतिनिधिसभामा स्पष्ट बहुमत सहित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा हामीहरुको समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौं । हस्ताक्षरकर्ता दलको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य संख्या कुल प्रतिनिधिसभा सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिदिन हुन अनुरोध गर्दछौं ।”

राष्ट्रपतिको सचिवालयको एक सदस्यका अनुसार दुई दलको तर्फबाट बहुमत सांसदहरुको हस्ताक्षरसहित दुई दलले दावी पेश गरिएकाे छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गएको दुई दलका नेता तथा सांसहरुको टोलीले सो दावी पेश गरेको सचिवालयका सदस्यको भनाइ छ । तर उहाँले सरकार गठन आज हुने सम्भावना कम भएको बताउनुभयो । काँग्रेस र एमालेका नेता तथा सांसहरु राष्ट्रपतिसमक्ष सरकार गठनको दावी पेश गरेर त्यहाँबाट बाहिरनुभएको छ ।

प्रचण्डलाई प्राप्त भएन विश्वासको मत : गुम्यो प्रधानमन्त्री पद

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो। शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो।

बैठकमा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको हो। सदनमा उपस्थित २५८ सदस्यमध्ये एक जना प्रतिनिधि सभाका सदस्य भने तटस्थ बस्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो।

असार १७ गते कांग्रेस–एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री पाँचौँ पटक विश्वासको मतको प्रस्ताव राख्नुभएको हो। प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले साथ दिए पनि त्यो पर्याप्त भएन । दुई ठुला दल कांग्रेस, एमालेले विपक्षमा मत दिँदा प्रधानमन्त्रीले सदनको बहुमत १३८ सङ्ख्या पुर्‍याउन नसक्नुभएको हो ।

सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारी गर्ने सहमति भएसँगै सरकारमा सहभागी दल एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो।

नियुक्त भएको डेढ वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिनुभएको हो। यसअघि चार पटकसम्म प्रधानमन्त्रीले सदनमा विश्वासको मत पाउनुभएको थियो । एमालेको समर्थन फिर्तापछि असार २१ गते संसदमा पत्राचार गर्दै प्रधानमन्त्रीले विश्वासको मतको कार्यसूची अगाडि बढाइदिन आग्रह गर्नुभएको हो।

सङ्घीय संरचनामा दोस्रो पटक भएको निर्वाचनपछि प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो।

प्रारम्भमा उहाँ एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री हुनुभएको थियो । पहिलो पटक प्रधानमन्त्रीले सदनमा करिब शतप्रतिशत मत पाउनुभएको थियो । २०७९ पुस २६ मा प्रतिनिधि सभामा विश्वासको मत लिँदा उहाँले २६८ मत पाउनुभएको थियो । उपस्थितमध्ये दुई सांसदले मात्र विपक्षमा मतदान गरेका थिए । कांग्रेस, एमालेलगायतका सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका बेला नै एमाले र माओवादी केन्द्रको गठबन्धन तोडिएपछि प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनुपरेको थियो । उहाँले दोस्रो पटक १७२ मत पाउनुभएको थियो।

एक वर्षको सत्ता सहयात्रापछि कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले पुनः एमालेसँग सहकार्य गर्नुभएको थियो । गठबन्धनमा विग्रह आएसँगै प्रधानमन्त्रीले तेस्रो पटक २०८० फागुन ३० मा विश्वासको मत लिनुभएको थियो।

तेस्रो पटक उहाँले १५७ मत पाउनुभएको थियो । यस्तै सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि एक पक्षले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ जेठ ७ गते चौथो पटक विश्वासको मत लिनुभएको थियो । चौथो पटक उहाँले १५७ मत पाउनुभएको थियो।

प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ । राष्ट्रपति कार्यालयका अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि यो आह्वान भएको हो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका आह्वान गर्नुभएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter