सर्वोच्च अदालतमा एक वर्षमा ३७.८४ प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौँ / असार ३१ गते । चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ३७.८४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले सो जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतमा प्रवक्ता वेदप्रसाद उप्रेतीले विगत ५ वर्षको तुलनामा यस वर्ष करिब ७ प्रतिशतले मुद्दा फर्छ्यौट वृद्धि भएको बताए। उनले चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ४० हजार ९१२ मुद्दामध्ये १५ हजार ४८४ मुद्दा फर्छ्यौट गरेको जानकारी दिए ।

विगत पाँच वर्षको तुलनामा यस वर्ष मुद्दा फर्छ्यौट सङ्ख्या र प्रतिशतमा वृद्धि भएको उनको भनाई थियो । उनले ४० हजार ९१२ मुद्दामध्ये फर्छ्यौट गर्ने २५ हजार ४२८ मुद्दा बाँकी रहेको बताए ।

प्रवक्ता उप्रेतीले विगत ५ वर्षमा २ वर्ष नाघेका मुद्दाको तुलनामा पनि २ वर्ष नाघेका मुद्दा फर्छ्यौट बढी रहेको जिकिर गरे । विगत ५ वर्षमा २ वर्ष नाघेका २० हजार १४२ मुद्दामा ८ हजार १२२ मुद्दा फर्छ्यौट गरिएको उनले जनाए ।

विगत ५ वर्षको तुलनामा २ वर्ष नाघेका ४०.३२ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको उनले प्रस्ट्याए । प्रवक्ता उप्रेतीले ५ वर्षमा २ वर्ष नाघेका अझै १२ हजार २० मुद्दा बाँकी रहेको बताए। त्यसै गरी २ हजार ६४५ थुनुवा मुद्दामा चालु आर्थिक वर्षमा ८९७ अर्थात् ३३.९१ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको उनको भनाई थियो ।

यता उच्च अदालतमा ६५ हजार ३१० मुद्दामा ६२.६१ प्रतिशत र जिल्ला अदालतमा २ लाख २८ हजार ३७२ मा ५७.०६ प्रतिशत मुद्दा फर्छ्यौट भएको जानकारी दिइयो । उनले सर्वोच्च,उच्च र जिल्ला अदालतमा गरी चालु आर्थिक वर्षमा ३ लाख ६४ हजार ५९४ मुद्दा दर्ता भएकोमा ५५.९० अर्थात् २ लाख ३ हजार ८२७ मुद्दा फर्छ्यौट भएको बताए ।

उनले सर्वोच्च अदालतमा हरेक आर्थिक वर्षमा मुद्दा दर्ताको क्रम बढ्दो रहेको पनि जिकिर गरे। उनले सर्वोच्च अदालतमा प्राप्त स्रोत साधन न्यून र जनशक्तिको दक्षता अभिवृद्धिमा राज्यको लगानी नभएको बताए ।

अदालतहरूको भौतिक अवस्था कमजोर भएकाले उनको गुनासो थियो। उनले समयमा न्यायाधीश नियुक्ति नहुनु प्रमुख चुनौती रहेको औँल्याए ।

सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन पद्धतिका तथ्याङ्क सकारात्मक रहेको बताए । उनले पछिल्लो समय अदालतले दर्ता भएका मुद्दा भन्दा बढी फर्छ्यौट गरिरहेको दाबी गरे ।

अदालतहरूमा दर्ता भएका मुद्दा फर्छ्यौट तथ्याङ्कहरूले अदालतहरू सुधारोन्मुख भएको देखिएको उनको भनाई थियो । उनले चालु आर्थिक वर्षमा विगतको तुलनामा २३ सय मुद्दा कम गर्न सफल भएको बताए ।

गत वर्ष १२ हजार बढी मुद्दा फर्छ्यौट गरिएकोमा यो वर्ष वृद्धि गरेर १५ हजार बढी मुद्दाहरू फर्छ्यौट गरिएको उनले बताए । सर्वोच्च अदालतले रिट निवेदनका लागि परेका ७ हजार २८६ मुद्दाहरूमा पनि २ हजार ८० मुद्दा फर्छ्यौट गर्न सफल भएको जानकारी दिइयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter