पूर्वमन्त्री डा.महतद्वारा आर्थिक साक्षरता अभियानको शुभारम्भ

काठमाडौँ, साउन २१ गते । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आज यहाँ आयोजित एक कार्यक्रममार्फत ‘आर्थिक साक्षरता अभियान’ शुभारम्भ गर्नुभएको छ । अक्ष ज्योति प्रालिको आयोजनामा सञ्चालित यस अभियानलाई मुलुकभर लैजान आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।

“युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ”, उहाँले भन्नुभयो, “कानुनले दिएका कैयौँ सुविधाबारे युवाहरूलाई जानकारी गराउन अभियानले सहयोग पुग्नेमा मलाई विश्वास छ ।”

उहाँले विदेशमा पनि जीवन सजिलो नभएको उल्लेख गर्दै युवाहरूले स्वदेशमै भविष्य खोज्नुपर्नेमा जोड दिनुभयो । “मैले पनि अमेरिकामै रहेर अर्थशास्त्र विषयमा विद्यावारिधि गरेको थिएँ”, उहाँले भन्नुभयो, “विदेशमा बस्नेहरूले रिलमार्फत देखाए जस्तो सजिलो छैन । नेपालमै ठुलो सम्भावना छ ।”

आजको कार्यक्रममा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सुमन समल मगर पहिलो, शिशिर लामिछाने दोस्रो र सुरक्षा कँडेल तेस्रो भए । उनीहरूलाई प्रमुख अतिथि डा महतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो ।

अक्ष ज्योतिले अभियानअन्तर्गत आगामी दिनमा मुलुकका विभिन्न क्याम्पसका विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध र वतृत्वकला प्रतियोगिता, उद्यमशीलतासम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र ‘लेक्चर सिरिज’आयोजना गर्ने जनाएको छ ।

आजको कार्यक्रममा ‘स्टार्टअप र साना उद्यमीहरूको समस्या: वित्तीय पहुँचका लागि बैङ्कहरूसँग कसरी सम्पर्क गर्ने ?’ विषयमा राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिनुभएको थियो ।

साथै ‘डिजिटल बैङ्किङको वरदान र आशीर्वाद: नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले प्रशिक्षण दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter