आँखा अस्पताललाई एक वर्षको तलब सहयोग

अनिल पराजुली / हेटौँडा, साउन २२ गते । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ बाट निर्वाचित सांसद एवम् पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले हेटौँडा सामुदायिक आँखा अस्पताललाई ९ लाख ९९ हजार सहयोग गर्नुभएको छ ।

उहाँले एक वर्षको तलब रकममा आफ्नो तर्फबाट थप रकमसहित हेटौँडा आँखा अस्पताललाई सहयोग गर्नुभएको हो । सेवा सुविधा सहितको तलबबापतको ६ लाख १२ हजार रुपियाँ र ३ लाख ८७ हजार थप गरेर रकम डा.सन्दुक रुइतलाई हस्तान्तरण गर्नुभएको हो ।

सांसद एवम् पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले निर्वाचनका बेला जनतासँग गरेको वाचा पुरा गरेको बताउनुभएको छ । उहाँले सेवा सुविधा बापत प्राप्त गरेको रकम जनताकै लागि खर्च गर्ने वाचा गरेकाले त्यही अनुरूप डा. रुइत मार्फत हस्तान्तरण गरेको बताउनुभयो ।

निःस्वार्थ भावले आम जनताको सेवा कसरी गर्ने भनेर डा. रुइतबाट सबैले सिक्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत डा. रुइतले गर्नुभएको कामको प्रशंसा जति गरेपनि कम हुने उहाँले बताउनुभयो । आँखाको लेन्स बनाउने कारखाना बागमती प्रदेशको राजधानी हेटौँडा स्थित बसामाडीमा निर्माण हुन लागेको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै डा सन्दुक रुइतले स्वच्छ मनोभावना र अन्तर आत्माले गरिएको सहयोगप्रति धन्यवाद दिनुभयो । सीमान्तकृत जनतामा यो रकम पुर्‍याउने वाचा गर्दै तलबबापतको रकम गरिबलाई दिने कार्य प्रशंसायोग्य भएको बताउनुभयो । संरक्षक सिद्धिलाल श्रेष्ठले आँखा अस्पतालको सेवा अझै विस्तार गर्ने बताउँदै सहयोगको प्रशंसा गर्नुभयो ।

हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा ८० हजार भन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ भने ६ हजार जनाको आँखाको अप्रेसन गरिएको हो । यहाँ दैनिक तीन सय बिरामीले सेवा लिइरहनुभएको छ । तीन जना नेत्ररोग विशेषज्ञ डाक्टर मार्फत सेवा प्रदान गरिरहेको अस्पतालले मकवानपुरको मनहरी, बागमती, बकैया, इन्द्रसरोवर, कैलाश गाउँपालिका र थाहा नगरपालिकामा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको अस्पतालका कर्मचारी सुधीर श्रेष्ठले जानकारी दिनुभयो । यहाँ मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीबाट सेवाग्राही आउने गरेको अस्पतालले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter