नेपाली अर्थोडक्स चियाको बजारीकरणका लागि ‘चिया प्रतिस्पर्धा’

प्रेम अधिकारी / इलाम भदौ ८ गते। नेपाली अर्थोडक्स चिया उत्पादकलाई खुला बजारमुखी एवं स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदान लागि नेपालमा पहिलो पटक नेपाल चियाको प्रतिस्पर्धा गराइने भएको छ।

इलामको सूर्योदय नगरपालिकामा रहेको टि-स्टेसन इन्क आयोजनामा भदौ ११ गते काठमाडौँको छाया कम्लेक्समा स्वदेशी तथा विदेशी बजारमा नेपाली अर्थोडक्स चियाको माग र बजार विस्तारको सम्भावना खोजी गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो।

प्रतियोगिता आयोजक टि-स्टेसन इन्कका अध्यक्ष प्रज्वल प्रधानले प्रतियोगितामा नेपालका साना ठूला सबै गरी १०० भन्दा बढी चिया उद्योगले प्रतिस्पर्धामा भाग लिनेछन्। उहाँका अनुसार काठमाडौँमा चिया व्यवसाय सञ्चालन गरिरहेका ७० भन्दा बढी होलसेलर, रिटेलर, निर्यातकर्ता र प्याकेजरले एकै ठाउँमा चियाको स्याम्पल हेर्न र चाख्न पाउने छन्।

आयोजक टि स्टेशन इन्कले नेपाली अर्थोडक्स चिया उत्पादकलाई खुला बजारमुखी एवं स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदान गर्न, प्रतिस्पर्धी एवं स्वच्छ व्यापारको माध्यमबाट स्वदेशी चियाको मूल्य श्रृंखलाको क्षमता विकास गर्दै राष्ट्रिय उत्पादकत्व र गुणस्तरमा अभिवृद्धी गर्न, चियामा अनावश्यक हस्तक्षेप, प्रतिबन्धात्मक व्यापार अभ्यास र अस्वच्छ प्रतिस्पर्धाबाट चियाको आन्तरिक बजारलाई जोगाउँदै नेपाली चियाको मूल्य श्रृंखलाको आर्थिक हित कायम गर्न, नेपाली अर्थोडक्स चियाको उत्पादक, क्रेता, प्याकेजर र चिया पारखीलाई एउटै थलोमा ल्याउन पहल गरेर नेपाली गुणस्तरीय चियाको प्रवर्द्धन गर्न र चियाको नमुना अक्सन सञ्चालन गरी यसको आवश्यकता र फाइदाबारे बोर्ड, मन्त्रालय र नीति निर्माणकर्तालाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको जनाएको छ।

अध्यक्ष प्रधानका अनुसार उक्त प्रतिस्पर्धामा नेपाली अर्थोडक्स चिया उत्पादक सहभागी हुन सक्नेछन्। उक्त प्रतिस्पर्धामा मुख्य गरी दुई वटा विधा निर्धारण गरिएको छ। साधारण अर्थोडक्स चिया र विशिष्ट अर्थोडक्स चिया रहने छन्। यी दुई विधाका चार वटा चियाका प्रकारमा वाईट टि, ग्रिन टि, ब्ल्याक टि र ओलङ टि बिच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

प्रतिस्पर्धामा सामेल सबै चियालाई विभिन्न देशबाट निमन्त्रणा गरिएका निर्णायकको मण्डलबाट स्वाद परीक्षण गरेर मूल्याङ्कन गरिनेछ। निर्णायक मण्डलबाट एक जना निर्णायकलाई दुवै विधाका चार प्रकारका चिया मध्ये कुनै एक प्रकारको चियाको मूल्याङ्कन गर्न दिइनेछ।

तोकिएका सबै विधाका विजेता एवं उपविजेतालाई आधिकारिक निकायका अधिकारीले स्वीकृत गरेको प्रमाणपत्र र पुरस्कार उपलब्ध गराइने आयोजकले जनाएको छ। विजेता हुने चियालाई अक्सनको लागि राखिने भएको छ। एक दिने कार्यक्रम सम्पन्न गर्न आयोजकले ११ लाख ५० हजार खर्च हुने जनाएको छ। चिया व्यवसायी गोपाल कट्टेलले उक्त प्रतिस्पर्धाले नेपाली अर्थोडक्स चियाको व्यवसायिकतामा थप सहयोग पुग्ने बताउनुभयो।

कोरोना महामारीले नेपालको चिया क्षेत्रलाई पनि नराम्ररी प्रभावित पारेको बेला अर्थोडक्स चिया उद्योगलाई उठाउनका लागि चार वर्ष अघि टि स्टेसन इन्कले यस्तै प्रकृतिको इलाम टि च्यालेन्ज – २०२० को आयोजना गरेको थियो। उक्त प्रतियोगितामा नेपालका ६२ वटा अर्थोडक्स चिया उत्पादकले सहभागिता जनाएका थिए।

सन् २००० देखि २०१५ सम्मको प्राप्त तथ्याङ्क अनुसार चियाको आन्तरिक बजार तथा प्रति व्यक्ति उपभोग वार्षिक ११ प्रतिशतका दरले वृद्धि भइरहेको देखाउँछ। तर, कफी लगायत अन्य प्रतिस्पर्धी पेय पदार्थको उपभोग बढ्दै जाँदा सन् २०२५ सम्म नेपालमा चिया उपभोगको वार्षिक वृद्धी दर ५ देखि ८ प्रतिशतमा झर्न सक्ने अनुमान गरेको पाइन्छ।

भारतले नेपाली चियालाई गुणस्तरहीन भन्दै पटकपटक निर्यात रोक्दा पनि नेपाली चिया भारतमै बेच्नुपर्ने बाध्यता छ। हालसम्म १५ प्रतिशत अर्थोडक्स चिया नेपालमा खपत हुने गरेको छ भने भारत लगायत अन्य मुलुक जाने गरेको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाका अनुसार वार्षिक रुपमा इलाममा मात्र ६७ लाख ५७ हजार पाँच सय ७६ किलोग्रम अर्थोडक्स चिया उत्पादन हुने गरेको छ। नेपाल वार्षिक रुपमा दुई करोड ६३ लाख किलोग्राम अर्थोडक्स चिया उच्पादन हुने गरेको प्रविधिक कोइराले जानकारी दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter