एआईको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौँ, असोज १६ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताउनुभएको छ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु भएको सम्मेलनअन्तर्गत आयोजित ‘एसिडी बिजनेस फोरम’लाई सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो, “अबको युगमा एआईलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले यसलाई मर्यादित रूपमा मानवहितमा प्रयोग गर्नुपर्दछ।”

विश्व शान्ति, स्थिरता तथा समृद्धिका लागि एआई लाई सकारात्मक र सिर्जनात्मक साधनका रूपमा अँगाल्नुपर्ने मन्त्री डा राणाको भनाइ थियो। सो बिजनेस समिटको ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड न्यु बिजनेस मोडल’ विषयक सत्रमा उहाँले भन्नुभयो, “आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआई एक प्रकारको ‘गेम चेञ्जर’ का रूपमा आएको छ। यसको दुरुपयोग नभई सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ।”

मन्त्री डा. राणाले एआई अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षालगायतका लागि प्रभावकारी साधन बनेको बताउनुभयो। यो प्रविधिलाई देशको व्यापारिक तथा कर्पोरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्द्धनका लागि प्रयोग गर्नसक्ने उहाँको सुझाव थियो। कर्पोरेट क्षेत्रका डाटाको प्रयोग र विश्लेषण एवं आफ्ना उत्पादन तथा सेवाको विस्तारमा एआईले सहयोग पुर्‍याउने उहाँले बताउनुभयो।

यसको प्रयोगबाट बजारको विश्लेषण एवं अनुसन्धान, उत्पादनका लागि दक्षताको सुधार एवं सूचना प्रणालीमा सहयोग पुग्ने मन्त्री डा राणाको भनाइ थियो। उहाँले यो प्रविधिको प्रयोगबाट लाभ पुग्ने भए पनि यसका जोखिम र चुनौतीहरू पनि बिर्सन नहुने तर्क गर्नुभयो। कतिपय डाटा तथा तथ्याङ्कको गोपनीयता, गलत अर्थात् भ्रमपूर्ण सूचनाको प्रसार तथा रोजगारीमा आउन सक्ने गिरावटलाई यसका मुख्य चुनौतीका रूपमा लिने गरिएको उहाँको भनाइ छ।

नेपाल वर्तमान संविधान जारी भएसँगै दिगो शान्ति, स्थिरता र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्न आवश्यक कानुन परिमार्जन गरेका छौँ। नेपाल सरकारले ऊर्जा, उत्पादन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई लगानीका प्रमुख प्राथमिकतामा राखेको छ। एआई नेपालमा लगानीको एक नयाँ क्षेत्र बन्न सक्छ।”

सो बिजनेस समिटमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध नेपाली उद्योगी तथा व्यवसायीसँग समन्वय गरी नेपालमा लगानी गर्न मन्त्री डा राणाले विश्वका लगानीकर्तालाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “यहाँ उपस्थित सम्पूर्ण उद्योगी, व्यवसायी एवं लगानीकर्तालाई म यो आग्रह गर्न चाहन्छु कि अहिले नेपालमा लगानीको उचित अवसर र वातावरण छ। त्यसैले नेपालमा विविध क्षेत्रमा लगानी गर्न आउनुहोस्।”

मन्त्री डा राणा कतारको दोहामा आजदेखि सुरु भएको एसियन कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुग्नुभएको हो। उहाँ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी भएर मङ्गलबार दोहा पुग्नुभएको हो। रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter