तिहार नजिकिएसँगै मादल बनाउने चटारो

कविराज घिमिरे / हिले, कात्तिक ७ गते । धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ छ । नेपालीको दोस्रो महान् चाड तिहार नजिकिएसँगै उहाँसहित उहाँको परिवारलाई मादल बनाउन चटारो भएको हो ।

तिहारको समयमा मादलको माग अत्यधिक भएका कारण सार्की बिहानदेखि राति अबेरसम्म व्यस्त रहँदैै आउनुभएको छ । उहाँले आफ्नो जीवनको करिब पाँच दशक त मादल बनाउन बिताउनुभएको छ । त्यसमा पनि करिब दुई दशक यता भने जिल्लामा मादलको माग धान्दै आउनुभएको छ ।

उहाँले मादलसहित डम्फु, सारङ्गीलगायतका सामग्री निर्माण गर्ने गर्नुभएको छ । तर सबैभन्दा बढी र सदाबहार माग भने मादलकै हुने गरेको छ । उहाँले यो पेसामा बाह्रै महिना कहिले पनि खाली बस्नुपर्दैन । बनेका मादल घरबाट बिक्ने गरेका छन् ।

उहाँसँगै अहिले उहाँको श्रीमती चन्द्रमाया, भान्जा रमेश रोका, छोरा निरबहादुर, भतिजा तथा नातिहरु व्यस्त हुनुहुन्छ । मादल बनाउन कठिन हुने र आकारअनुसार ३ देखि ५ दिनसम्म लाग्ने गर्छ ।

त्यस्तै, आकारअनुसार एउटा मादलको २५ सयदेखि १३ हजारसम्ममा बिक्री हुँदै आएको छ । काठको ढुङ्ग्रो बनाउन गाह्रो हुने, गोरुको छाला भारतबाट ल्याउनुपर्ने हुँदा मादल बनाउन गाह्रो हुने गरेको छ । मादल बनाउन कला संस्कृति जोगाउन सहयोग पुग्ने र लोप हुने अवस्थामा पुगेको कुरालाई जोगाउन सकिने भएकाले पनि अहिले सबै पेसा छाडेर बुवालाई मादल बनाउन सहयोग गरिरहेको छोरा निरबहादुर सार्कीले बताउनुभयो ।

“मादल बनाउन कच्चा पदार्थदेखि धेरै कुराको समस्या छ, तर बजारमा माग धेरै छ त्यही मागअनुसार उत्पादन गर्न सक्ने अवस्था छैन” उहाँले भन्नुभयो । तिहारमा देउसीभैलो खेल्न साथै विभिन्न नाचमा मादलको प्रयोग हुन्छ । तिहार नजिकिएसँगै मादलको माग बढ्नेगरेको छ ।

पछिल्लो समय मादल बनाउने पेसा भने लोप हुँदैगएको छ । पहिले मादल बनाउनेहरु धेरैले अहिले पेसा परिवर्तन गरिसकेका छन् । तर आफूहरु मादलको बजार देखेर यही पेसामा लागिरहेको सार्कीका भन्जा रमेश रोक्काले बताउनुभयो । द्वन्द्वकालीन तथा कोभिडताका मादलको माग घटे पनि अहिले पुनः माग बढेको उहाँको भनाइ छ ।

मादल बनाउन खमारी, लामपाटो, सिरीस, खिर्रोजस्ता काठ र बाख्रा, भैंसी, गोरुको छालालगायत कच्चा पदार्थको आवश्यक पर्दछ । ती कच्चा पदार्थ अहिले पाउन समस्या भएको सार्कीको भनाइ छ । तिहारमा मादलको माग बढी तर कच्चा सामग्रीको अभावले बजारको माग पूरा गर्न मुस्किल पर्ने उहाँको भनाइ छ ।

तैपनि उहाँ आफ्नो पेसाबाट पछि हट्नुभएको छैन । उहाँहरुले बनाएको मादलको धनकुटामा मात्र नभई सङ्खुवासभा, सुनसरी, तेह्रथुम मोरङ जिल्लाका विभिन्न स्थानबाट माग हुने गरेको छ । तिहारमा खेलिने देउसी भैलोमा मादलबिना राम्रो नहुने र मादल बजाउँदा संस्कृति संरक्षण हुने मादलका ग्राहक बताउँछन् ।

पछिल्लो समय इमेल इन्टरनेट र आधुनिक सामानको प्रयोग बढिरहँदा अन्य पुराना शैलीका बाजागाजा हराउँदै गए पनि मादलको माग उत्तिकै बढेकाे प्रयोगकर्ताको अनुभव छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter