रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति; ओली सरकारविरुद्ध शुक्रबार माइतीघर मण्डलामा जम्मा हुन रास्वपाको आह्वान

कास्की, कात्तिक ८ गते । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा ल्याएको थियो ।

रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

ओली सरकारविरुद्ध शुक्रबार माइतीघर मण्डलामा जम्मा हुन रास्वपाको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केपी ओली नेतृत्व सरकारविरुद्ध शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो ।

प्रदर्शन पार्टीको नेतृत्वमा भए पनि आम रूपमा सहभागी हुन अपिल गरेको रास्वपाका केन्द्रीय सदस्य पुकार बमले जानकारी दिए ।

‘दुई तिहाइ सरकारको दम्भ र प्रतिशोधपूर्ण कदमविरुद्ध उत्रिन सार्वजनिक रूपमा अपिल गरेका छौँ । अब पोखरा वा कुनै व्यक्ति वा पार्टी विशेषमा आन्दोलन रोकिँदैन । अब अभियानकै रूपमा अगाडि बढिसकेको छ । ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउँछौँ’, रातोपाटीसँग बमले भने, ‘मुद्दा पार्टीले उठाएपनि जिल्ला, प्रदेशले नेतृत्व गर्छ । सहकारी ठगी, भ्रष्टाचारका अन्य मुद्दाका लागि सार्वजनिक रूपमा अपिल गरेका छौँ । सबैको ऐक्यबद्धता हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । पार्टीको झन्डा केही हुँदैन । स्वतःस्फूर्त रूपमा खुला कार्यक्रम गर्न लागिएको हो ।’

आन्दोलनको तयारीका लागि अहिले जिल्ला, प्रदेश र केन्द्रमा उपलब्ध भएका केन्द्रीय नेताहरूको बैठक बसेको उनले जानकारी दिए । बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, व्यवस्थित गर्ने लगायत विषयमा छलफल भइरहेको बताए ।

सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् । बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter