काठमाडौंमा रास्वपाको प्रदर्शन, आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

काठमाडौँ , कात्तिक ९ गते ।: सहकारीको रकम ठगी र सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रवार काठमाडौँमा विरोध प्रदर्शन गर्यो। माइतीघर मण्डलामा भेला भएर रास्वपाका नेता तथा कार्यकर्ताहरू नयाँ बानेश्वरको एभरेस्ट होटेल अगाडिसम्म पुगेका थिए।
रवि पक्राउको विरोधमा आयोजित विरोध प्रदर्शनमा उनीहरूले सहकारी पीडितको पक्षमा नारा लगाएका थिए भने सरकारको चर्को विरोध गरेका थिए।
आन्दोलन जारी राख्ने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको नेता मनिष झाले जानकारी दिए । आन्दोलनको कार्यक्रमको स्वरूपबारे विवरण शनिबार सार्वजनिक गरिने उनले बताए ।
पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको थियो ।