धानको मूल्य घट्दा मर्कामा किसान

यादवराज पुरी / रौतहट, कात्तिक ११ गते । चाडपर्व मनाउन कृषि उपज बिक्री गर्नुपर्ने बाध्य भएका रौतहटका किसान यतिबेला मर्कामा परेका छन् । आम्दानीको अन्य स्रोत नभएपछि धान बिक्री गरेर चाड पर्व मनाउन बाध्य भएका किसान मल्य घटेपछि मर्कामा परेका हुन् ।

सामाजिक मूल्य मान्यता, रीतिरिवाज र परम्परा मान्दै आएका तर न्यून आय भएका किसानले चाड पर्व मनाउनकै लागि भए पनि मूल्यको बेवास्ता गर्दै अन्न बिक्री गर्नुपर्ने बाध्यताको मौका छोपी गल्ला व्यापारीले भाउ घटाउने गर्छन् ।

अन्नको भाउ कहाँ कति छ भन्ने बारे किसानलाई कुनै जानकारी दिने आधिकारिक निकाय नभएका कारण पनि यतिबेला बिचका व्यापारीबाट ठगिने गरेको किसानले गुनासो छन् । ग्रामीण भेगका सोझासाझा किसानले व्यापारीले तोकेको मूल्यमा नै धान बेचेका छन् अहिले ।

मुलुकका विभिन्न सहरमा बिक्री गरिने दैनिक उपभोग्य वस्तु तथा तरकारीको थोक तथा खुद्रा मूल्यको बारेमा सञ्चारका विभिन्न माध्यमले जानकारी गराइरहेको पाइन्छ । तर कृषि उपजमध्येकै अन्नबालीको दरभाउ भने कहीँ कतैबाट जानकारी नपाएको किसान बताउँछन् ।

गुजरा नरपालिका–५ का किसान जयकिसन चौधरी भन्नुहुन्छ, “धान काट्ने बेलादेखि नै चाडबाड सुरु हुने हुँदा व्यापारीले जहिले पनि यो समयमा धानको भाउ घटाउने गरेको पाइन्छ । दसैँ त जसोतसो मनाइयो । दीपावली र छठ मनाउन धान बिक्री गर्न खोज्दा भाउ निकै घटेको पाइयो । डुबानमा परेको धानको मूल्य त झनै कम लगाएका छन् व्यापारीले ।”

स्थानीय गल्ला व्यापारी अजयकुमार गुप्ताका अनुसार एक साता अघि मात्र सावित्री धानको मूल्य प्रति क्विन्टल चार हजार रुपियाँ रहेकोमा अहिले तीन हजार सात सय रुपियाँ छ । गोरखनाथ प्रति क्विन्टल चार हजार रुपियाँबाट तीन हजार आठ सय रुपियाँमा झरेको छ । यसैगरी, कतर्नी धानको मूल्य प्रति क्विन्टल चार हजार रुपियाँमा तीन सय रुपियाँ घटेको छ । डुबानमा परेको धानको अवस्था हेरी प्रति क्विन्टल तीन हजार रुपियाँदेखि तीन हजार तीन सय रुपियाँसम्ममा खरिद गरिन्छ ।

दसैँ, तिहार तथा छठ पर्व जस्तो चाडवाडमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडालगायत अन्य वस्तुको मूल्यमा वृद्धि भएको पाइन्छ तर कृषि उपज भने सस्तोमा बिक्री गर्नुपर्ने किसानको बाध्यता छ । चन्द्रपुर नगरपालिका–५ का किसान मधु पौडेल भन्नुहुन्छ, “सरकारले कुनै माध्यमबाट समय मै अन्नको भाउको बारेमा जानकारी गराउने व्यवस्था गरे किसानले उचित मूल्य पाउन सक्छन् र ठगिनबाट जोगिन्छन् । अन्नको भाउ घट्नुका कारणको बारे जिल्लाका कुनै पनि गल्ला व्यापारीसँग कुनै ठोस आधार छैन ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter