निर्वाचन आयोग र सरकारी सञ्चारमाध्यमबिच उपनिर्वाचनबारे छलफल

काठमाडौँ, कात्तिक २७ गते । निर्वाचन आयोग र सरकारी सञ्चार माध्यमहरूबिच स्थानीय तह उपनिर्वाचन, २०८१ स्वच्छ, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने बारे छलफल भएको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मङ्गलबार सबै आमसञ्चार प्रतिष्ठान तथा सार्वजनिक सञ्चार माध्यमहरूबिच भएको छलफलमा मङ्सिर १६ गते हुने उपनिर्वाचनसम्बन्धी सूचना तथा जानकारीमूलक सामग्रीको प्रभावकारी सम्प्रेषण तथा प्रचारप्रसार गरी निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता सुनिश्चित गर्नेबारे विभिन्न निर्णयहरू भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्त सगुन शमशेर जबरा, आयोगका सचिव रविलाल पन्थ, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, सूचना तथा प्रसारण विभागका महानिर्देशक, नेपाल प्रहरी साइबर ब्युरोका प्रतिनिधि र सार्वजनिक सञ्चार माध्यमका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले यस सम्बन्धमा दश वटा निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार छापा तथा विद्युतीय सार्वजनिक सञ्चार माध्यम तथा अन्य सञ्चार माध्यमले विशेष जिम्मेवारी तोकी निर्वाचनसम्बन्धी गतिविधिलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको छ ।

यसैगरी, रेडियो तथा टेलिभिजनबाट समाचारभन्दा अघि, पछिको समयमा निर्वाचनसम्बन्धी जानकारीमूलक सामग्री प्रसारण गर्ने, छापा माध्यमले यस्ता सामग्री अग्रभागमा प्रकाशन गर्ने, आयोगका निर्णय तथा प्रकाशित विज्ञप्तिहरू निर्वाचनका लागि सकारात्मक माहौल तयार गरी सहयोग गर्ने, उपनिर्वाचनसम्बन्धी छलफल, अन्तरक्रिया जस्ता कार्यक्रमहरू गर्ने लगायतका निर्णयहरू भएको उहाँको भनाइ छ ।

उपनिर्वाचनमा सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ ।

आयोगले उपनिर्वाचन हुने जिल्लामा रेडियो नेपाल तथा नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति ९रासस० र गोरखापत्रका प्रतिनिधिको नेटवर्क तयार गरी समन्वयात्मक रुपमा निर्वाचनसम्बन्धी सूचना सङ्कलन, प्रकाशन, प्रसारण र सम्प्रेषणको उपयुक्त व्यवस्था मिलाउने जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ ।

उपनिर्वाचनका समयमा पत्रकार तथा सञ्चारमाध्यमका लागि आवश्यकताअनुसार निर्वाचन आचारसंहिता जारी गरी लागू गर्न प्रेस काउन्सिललाई पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।

उपनिर्वाचनसँग सम्बन्धित विषयगत सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरी नियन्त्रण र कारबाहीको व्यवस्था मिलाउन सञ्चार मन्त्रालयलाई पत्राचार गरेको छ ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले निर्वाचन सफल बनाउन नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिइने बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका निकायलाई सहजीकरण गर्न मन्त्रालय तत्पर रहेको स्पष्ट पार्नुभयो ।

उक्त कार्यक्रममा निर्वाचन आयुक्त सगुनशमशेर जबरा, निर्वाचन आयोगका सचिव रविलाल पन्थ, सञ्चार मन्त्रालयका सचिव अर्याल, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, राससका महाप्रबन्धक राई, रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा, नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह र गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीलगायत सहभागी हुनुहुथ्यो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter