तीन दिनमा सकियो रविको बयान, सामना गरे ७४ प्रश्न


काठमाडौँ , मङ्सिर १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँगको बयान सकिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले तीन दिनमा उनको बयान पुरा गरेका हुन् ।

सोमबार साँझ उनको बयान पुरा भएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

मंसिर १४, १६ र १७ मा उनीसँग स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले प्रश्न गरे । काठमाडौँका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा उनको बयान लिइएको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार लामिछानेसँग ७४ वटा प्रश्न सोधिएको छ । स्वर्णलक्ष्मीबाट लिएको ऋण, फिर्ता रकम र फिर्ता हुन नसकेको रकमबारे उनलाई प्रश्न गरिएको अनुसन्धान अधिकृतहरूले बताएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘हामीले ७४ वटा प्रश्न गरेका छौँ, त्यसमा उहाँले आफ्नो जवाफ दिनुभएको छ ।’

कार्तिक २ मा पक्राउ परेका लामिछाने र जीबी राईले स्वर्णलक्ष्मीबाट २०७८ भदौ ४ मा ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकालेका हुन् ।

‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ ।

त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीको कार्यालयबाट प्रहरीले ३५ थान भौचर बरामद गरेको छ । अनुसन्धान अधिकृतहरूले प्राप्त प्रमाण देखाएर लामिछानेलाई प्रश्न गरेका छन् ।

स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter