देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति: विदेशी विनिमय सञ्चिति १०.५ % ले वृद्धि; मुद्रास्फीति ५.६० प्रतिशत; ४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स


काठमाडौँ, मङ्सिर २७ गते । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा आधारमा रिपोर्ट सार्वजनिक गरेको हो ।

बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ भने आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ ।

यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको छ ।

यस्तै कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.४१५ अर्ब २ करोड र राजस्व परिचालन रु.३२३ अर्ब २४ करोड रहेको छ ।

यस्तै विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढ्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ।

विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि, १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

२०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिक मसान्तमा रु.२२५५ अर्ब ३५ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई रु.२००८ अर्ब १५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वृद्धि भई रु.२४७ अर्ब २० करोड कायम भएको छ । २०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः

३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनाको अवधिमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकको साउन–कार्तिकको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको चार महिनामा यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।

चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ छ । यही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter