काठमाडौं सांस्कृतिक वैभवको महानगर : उपराष्ट्रपति यादव


काठमाडौं, मंसिर २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण सहर भएको बताउनुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको केन्द्रबिन्दु भएको सहरको रूपमा पनि विशेष महत्व रहेको बताउनुभयो । उहाँले काठमाडौंभित्र विश्व सम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान र रैथाने रहनसहन, मौलिक खानपान, जीवनशैली, बाजागाजा, नाच तथा शृङ्गारहरूको अलौकिक संयोजन अन्यत्र पाउन दुर्लभ रहेको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाले महानगर घोषणा भएको ३० औँ वर्ष पूरा गरेको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष समारोहमा उपराष्ट्रपति यादवले उक्त कुरा बताउनुभएको हो ।

उहाँले काठमाडौंबासीलगायत सबैलाई बधाई तथा शुभकामना दिँदै महानगरपालिकालाई विकास र समृद्धिको पथमा अग्रसर गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई स्मरण र महानगरको नेतृत्व, जनप्रतिनिधिहरु, पदाधिकारीहरु तथा कर्मचारीहरुमा धन्यवाद व्यक्त गर्नुभयो ।

‘यहाँ प्रचलित जात्रा र पर्वहरू तथा महानगरसँग सम्बन्धित रोचक कथा र जनश्रुतिहरूले काठमाडौंलाई जीवन्त र विशेष सहरको उपमा दिएको छ’ सम्बोधन गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, ‘पछिल्लो समय स्थानीय सरकारका रूपमा काठमाडौं महानगरपालिकाले आफ्नो जिम्मेवारीलाई उजागर गर्दै आर्थिक, सामाजिक तथा भौतिक विकासमा अहम भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त गर्दछु ।’

उहाँले काठमाडौं महानगरले सेवाग्राही तथा लाभग्राहीलाई प्रदान गरेका सेवाहरू अन्य स्थानीय तहका लागि अनुकरणीय, अनुशरणीय र सिकाईयोग्य भएको उल्लेख गर्दै संघीयता कार्यान्वयनमा यहाँको शसक्त युवा नेतृत्वको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवर्धन, प्राकृतिक सम्पदाको संरक्षण, मठमन्दिर तथा पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकासलगायतका काम महानगरपालिकाका उदाहरणीय काम भएको बताउनुभयो ।

‘समावेशी र पहुँचयुक्त सहर निर्माणका लागि गरिएका प्रयासले महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका सबैले सहरलाई ‘मेरो पनि हो’ भन्ने विश्वास दिलाएको छ’ उहाँले भन्नुभयो, ‘कार्यपालिका बैठक, नगर सभाको प्रत्यक्ष प्रसारण, सूचना प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी सेवाको प्रबन्धन, स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार निर्माण, विपन्न नागरिकलाई स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि, वायु प्रदूषण नियन्त्रणका उपायहरू लगायत महानगरको प्रशंसनीय कार्य हुन् ।’

उपराष्ट्रपति यादवले काठमाडौँ महानगरपालिकाले संविधान, कानून र प्रचलित व्यवस्थाले दिएका अधिकारको पूर्ण प्रयोग गर्दै अन्य पालिकालाई संघीयताको अभ्यास गर्न सिकाई–योग्य मार्गदर्शन प्रदान गर्न सक्ने विश्वास व्यक्त गर्दै पुनः महानगर घोषणा भएको ३० औँ वर्ष पूरा भएको सुखद अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले सम्बोधनअघि काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका मौलिक सांस्कृतिक झाँकी र महानगरमा प्रयोग हुने प्रविधियुक्त विभिन्न साधनहरुको प्रदर्शनीलाई अभिरुचीपूर्वक अवलोकन गर्नुभएको थियो ।

उहाँले समारोहमा साहित्यिक स्रष्टा, चित्रकार, चिकित्सकलगायत १० जना विशिष्ट व्यक्तित्वलाई महानगरपालिकाको तर्फबाट प्रदान गरिएको सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter