एमाले सचिवालय बैठक : रावल साधारण सदस्यबाट हटाइए, पाण्डे र तिमल्सिनालाई ६ महिना निलम्बन; रावल भन्छन्– कारबाही निरंकुश प्रवृत्तिको उपज


काठमाडौँ / पुस १० गते । नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता पूर्व उपाध्यक्ष डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा पर्नुभएको छ ।

बुधबार दिउँसो पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले नेता रावललाई पार्टीको संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको बताउनुभएको हो ।

त्यसैगरी, पार्टी केन्द्रीय कार्यालयका सम्बन्धमा सार्वजनिकरुपमा टिप्पणी गर्नुभएका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र नेता उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकपछि नेता ज्ञवालीले भन्नुभयो, “उहाँ (भीम रावल) केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि पार्टीको विधान अनुसार सल्लाहकारमा रहनुभयो। त्यो जिम्मेवारी पनि पुरा गर्नुभएन। अभिव्यक्ति चाहिँ पार्टीलाई बलियो बनाउने भन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने भने निर्णय गरिएको छ।”

यस विषयमा पाण्डे र तिमल्सिनालाई स्पष्टीकरण सोधिएको भए पनि सार्वजनिकरुपमा बोलेको विषयमा रियलाइजेसन नगरेको निष्कर्ष बैठकले निकालेको उहाँको भनाइ छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठकपछि उपमहासचिव ज्ञवालीले बैठकले पुस २१ र २२ गते बस्ने बैठकका लागि एजेण्डा तय भएको जानकारी दिनुभयो।

उहाँका अनुसार केन्द्रीय कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी, पोलिट्ब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव सम्बन्धमा छलफल गर्ने एजेण्डा तय भएको छ।

उहाँले भन्नुभयो, “बैठक पुस २१ र २२ गते काठमाडौँ, केन्द्रीय कार्यालयमा गर्ने निर्णय भएको छ। त्यो बैठकका लागि राजनीतिक परिवर्तन, सङ्गठनात्मक कामको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी, पोलिट्ब्युरोले बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चार वटा एजेण्डा तयार गरेका छौं। सोही एजेण्डामा केन्द्रीत रहेर यो बैठक सम्पन्न हुनेछ।”

रावल भन्छन्– कारबाही निरंकुश प्रवृत्तिको उपज

एमालेले संगठित सदस्यता खोसेपछि रावलले यसलाई गम्भीर रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘यो ममाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज हो । ओलीले लामो समयदेखि नै कम्युनिस्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएका थिए ।’

रावलले ओली साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलान्जली दिएर आफूविरुद्ध खनिएको टिप्पणी गरे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter