अदालतमा रवि लामिछानेको इन्कारी बयान


फडिन्द्र अधिकारी / लेखनाथ, पुस १२ गते। कास्की जिल्ला अदालतमा पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ। गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्नताबारे इन्कारी बयान दिनुभएको छ।

बिहीबार न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको उहाँको बयान शुक्रबार सकिएको हो। बयानका क्रममा लामिछानेले प्रहरीलाई दिएकै विवरण दोहोर्‍याउनुभएको छ। उहाँलाई २८ प्रश्न सोधिएको थियो।

लामिछानेले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न नभएको र गोरखा मिडियाको सबै आर्थिक पक्ष जिबी राईले हेर्ने भएकाले आफूलाई थाहा नहुने जिकिर गर्नुभएको छ।

अदालतका स्रेस्तेदार राजन खनालले अब बाँकी चार प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस हुने जानकारी दिनुभयो। सूर्यदर्शन सहकारीको रकम अवैधानिक रूपमा गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा ६३ जनाविरुद्ध मुद्धा दायर भएको छ।

यसअघि सोमबार गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीको बयान भएको थियो भने मङ्गलबार र बुधबार जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाईको बयान लिइएको थियो।

लामिछानेसँग सहकारी ठगीअन्तर्गत सामुहिक बिगो एक करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो एक करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपियाँ बिगो कायम गरी अभियोगपत्र दर्ता भएको छ। सूर्यदर्शनका ६३ प्रतिवादीमध्ये पूरक अभियोगमा विपक्षी बनाइएका सात जना अहिले प्रहरी हिरासतमा छन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter