घरघरमै खानेपानी सुविधा र शौचालय बनेपछि भूकम्प प्रभावित खुशी


राजु लामिछाने / रुकुमपश्चिम, पुस १३ गते। रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ का निर्मला बुढा पुनले एक घण्टा टाढाबाट गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ। अहिले उहाँको घरमै मिटरसहितको धारा जडान भएको छ। धाराको पानी करेसाबारी र वस्तुभाइलाई समेत उपभोग गर्नमा सहज भएपछि उहाँ खुशी हुनुहुन्छ। भूकम्पपीडित पुनको घर छेउमै व्यवस्थित शौचालय बनेको छ। सरसफाई र स्वच्छता सम्बन्धीका व्यवहारिक ज्ञान हाँसिल गर्नुभएकी उहाँले आफ्नो दैनिकी फेरिएको बताउनुभयो।

मुसीकोट नगरपालिका–१४ का भिमबहादुर विष्ट पनि भूकम्प पीडित हुनुहुन्छ। भूकम्पपछि सुक्दै जान लागेका खानेपानीको मुहान जोगाएर घरघरमा खानेपानी सुविधा पुगेपछि घरभन्दा टाढाको मुल र खोलाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। पूर्व वडा अध्यक्ष समेत रहनुभएका विष्टले समुदाय र विद्यालयमा व्यवस्थित गरिएको खानेपानी र शौचालयबाट गाउँवासीको दैनिकी सहज हुँदै गएको उल्लेख गर्नुभयो।

पुन र विष्टको जस्तै सानीभेरी र मुसीकोटका ७३४ घरधुरीमा खानेपानीका धारा र ८५० घरधुरीमा शौचालय निर्माण भएका छन्। घरघरमा मिटरसहितको खानेपानी सुविधा र व्यवस्थित शौचालय बनेपछि उहाँका भूकम्प प्रभावित खुशी भएका छन्।

रुकुमेली समाज विकास केन्द्रले बेलायती विकास नियोगको सहयोग तथा युनिसेफको साझेदारीमा सञ्चालन गरेको भूकम्प प्रभावित क्षेत्रमा खानेपानी तथा सरसरफाई पुनर्लाभ कार्यक्रम मार्फत यहाँ खानेपानी र शौचालय निर्माण गरेको हो। यो कार्यक्रममा सानीभेरी गाउँपालिका र मुसीकोट नगरपालिकासँगको सहलगानी समेत रहेको छ।

रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशन कुमार क्षेत्रीले दुई पालिकाका समुदायस्तरमा १४ वटा खानेपानी आयोजना र ८५० वटा शौचालय निर्माण गरिएको जानकारी दिनुभयो। यसैगरी नौ वटा विद्यालयमा पनि खानेपानी र शौचालय निर्माण गरिएको छ। अध्यक्ष क्षेत्रीयालले भूकम्पको कारण खानेपानीको मुहान सुक्दै गएको र प्रभावित क्षेत्रमा झाडापखाला लगायतका सरुवा रोगको महामारी फैलिने जोखिम रहेकोले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले कार्यक्रम मार्फत सानीभेरीमा १० वटा र मुसीकोटमा चार वटा खानेपानी आयोजना निर्माण गरिएको बताउनुभयो। यसबाट यहाँका ७३४ घरधुरीका तीन हजार ५५१ जनसङख्या लाभाविन्त भएका छन्। अहिले प्रभावितको घरघरमा मिटरसहितको धारा जडान भएको छ।

त्यसैगरी सानीभेरीका पाँच र मुसिकोटका चार विद्यालयमा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ। यसबाट विभिन्न कक्षाका एक हजार ७९७ जना विद्यार्थी लाभान्वित भएका छन्। कार्यकारी निर्देशक ओलीले यहाँका २० वटा समुदायमा सञ्चालन गरेको स्वच्छता प्रवद्र्धनका गतिविधिमार्फत दुई हजार ३२१ घरधुरीका १३ हजार ३५३ जनसङख्या लाभाविन्त भएको जानकारी दिनुभयो। कार्यक्रम मार्फत सीपमूलक तालिम सञ्चालन गरेर दक्ष जनशक्ति समेत उत्पादन गरिएको छ।

भूकम्पपछि समुदाय र विद्यालयस्तरमा सरसरफाई र स्वच्छ खानेपानीका क्षेत्रमा प्रभावकारी काम गरेर स्थानीय सरकारलाई गुण लगाउने काम भएको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो।

भूकम्प प्रभावित क्षेत्रमा सरकारी निकायसँगको सहकार्यमा छोटो अवधिमै नतिजामुखी काम भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोको प्रतिक्रिया रहेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter