सुविधामा ज्येष्ठ नागरिकको पहुँच न्यून


काठमाडौँ, पुस १५ गते । राज्यका निकायसँग समन्वय हुन नसक्दा र स्वयं सुसूचित नहुँदा ज्येष्ठ नागरिकलाई संवैधानिक र कानुनी रूपमा प्राप्त अधिकारको पहुँच विस्तार हुन सकेको छैन । यातायात सेवा, स्वास्थ्य सेवा र स्याहार संरक्षणका लागि राज्यले प्रदान गरेका सेवाबाट सीमित ज्येष्ठ नागरिक मात्रै लाभान्वित भएका छन् ।

सरकारी निकायले सरोकारवाला निकायसँग समन्वय गर्न नसक्नु र ज्येष्ठ नागरिकले पनि आफ्नो अधिकारको परिधिबारे जानकारी नराख्दा लाखौँ बजेट छुट्याएर दिइएको सुविधा कार्यान्वयन अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको हो ।

सरोकारवालाका अनुसार कतिपय ज्येष्ठ नागरिकलाई आफूले प्राप्त गर्ने सुविधाको जानकारी पनि छैन । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्रबहादुर प्रधानका अनुसार ज्येष्ठ नागरिकले अझै पनि स्वास्थ्य उपचार, ज्येष्ठ नागरिक स्याहार केन्द्रसहितका सुविधा सहज रूपमा पाउने वातावरण बनिसकेको छैन । साथै स्वास्थ्य र उमेरका हिसाबले पनि ज्येष्ठ नागरिकका लागि तोकिएको सुविधा लिन समस्या छ ।

उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकले आन्दोलन गर्न र राज्यलाई दबाब दिन सक्दैनन्, त्यसैले कानुनी व्यवस्था र घोषित सुविधा कार्यान्वयन हुन सकिरहेको छैन । वृद्धभत्ताबाहेक अरू सेवा कार्यान्वयन सहज छैन ।” ज्येष्ठ नागरिक ऐनमा छोराछोरीलाई पूर्ण जिम्मेवार बनाइएको छ । ऐनले बाबुआमाको स्याहारसुसार नगर्ने र नहेर्ने छोराछोरीले कमाएको निश्चित रकम आमाबाबुलाई दिनुपर्ने व्यवस्था छ । अध्यक्ष प्रधानका अनुसार नियमावली बनाएर लागु गरिएको छ तर स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था केही क्षेत्रमा मात्रै लागु भएको छ ।

ज्येष्ठ नागरिक गृह स्थापना हुने

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार परिवारबाट स्याहार र संरक्षण प्राप्त गर्न नसकेका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारको सुविधासहित ज्येष्ठ नागरिक गृहको स्थापनाको काम अगाडि बढाइएको छ । मन्त्रालयका उपसचिव निर्मला कार्कीले ७५३ वटै स्थानीय तहको सहभागितामा ज्येष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित तथा विस्तार गर्न कार्यक्रम घोषणा गरी लागु गरिएको जानकारी दिनुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी पनि ज्येष्ठ नागरिकका लागि गरिएको सुविधासम्बन्धी व्यवस्था कार्यान्वयन कमजोर रहेको स्वीकार गर्नुहुन्छ । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधाको जिम्मेवारी एकल रूपमा स्थानीय सरकारलाई हुन्छ । सङ्घीय सरकारले कानुन निर्माण गर्ने हो । यातायात, स्वास्थ्य सेवासहित अन्य सुविधाको पहुँच पर्याप्त नभए पनि अब हामी क्रमशः यसलाई व्यवस्थित गर्छौं ।”

सरकारले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातको सिट आरक्षित र ५० प्रतिशत भाडा छुटको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकलाई मासिक न्यूनतम चार हजार रुपियाँ वृद्धभत्ता दिँदै आएको छ । साथै एक लाख प्रिमियमसहितको स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । अल्जाइमरपीडित ज्येष्ठ नागरिकको औषधी उपचार खर्चबापत मासिक पाँच हजार रुपियाँ दिने व्यवस्था गरेको छ ।

प्रदेश तथा जिल्लास्तरका सरकारी अस्पतालमा ज्येष्ठ नागरिक सेवा सञ्चालन गरिएको छ । कोशीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी, कोशी अस्पताल विराटनगर, उदयरपुर, ताप्लेजुङलगायत ११ जिल्लामा ज्येष्ठ नागरिक सेवा सञ्चालित छन् ।

उपसचिव कार्कीले मधेश प्रदेशका आठ वटै जिल्ला, बागमतीका १० जिल्ला, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा सेवा सञ्चालन भएको बताउनुभयो । उहाँका अनुसार पालिकास्तरमा ज्येष्ठ नागरिक सहायता कक्ष तथा मिलन केन्द्र सञ्चालनलाई प्राथमिकता दिइएको छ । स्वास्थ्य सेवामा ५० प्रतिशत छुट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षासँगै स्वास्थ्य उपचारमा बढी ध्यान दिइएको छ । उहाँले भन्नुभयो, “७० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था छ । ६० वर्षमाथिका नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था छ ।”

कैद सजाय भोगिरहेका ज्येष्ठ नागरिकलाई पनि उमेर र कसुर हेरी ६५ देखि ७० वर्ष उमेरकालाई २५ प्रतिशत छुटको व्यवस्था छ । ७० देखि ७५ वर्ष नाघेकालाई ५० प्रतिशत छुटको व्यवस्था छ । ज्येष्ठ नागरिकको नाममा रहेको चलअचल सम्पत्ति आफ्नो इच्छा अनुसार खर्च गर्न पाउँछन् । सो सम्पत्ति कसैलाई बाँढ्न वा अंशबण्डा गर्न कर लाग्दैन । ज्येष्ठ नागरिकलाई परिचयपत्रको व्यवस्था छ ।

सरकारको प्रतिबद्धता

सरकारले ज्येष्ठ नागरिकको सवालमा सम्मान र संरक्षणको संस्कृति बढाइरहेको दाबी गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका निम्ति सामाजिक सुरक्षाको दायरा वृद्धि गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको सम्मान र संरक्षणको संस्कृतिलाई बढाउनु पर्छ । उनीहरूको सम्मान र संरक्षणका निम्ति सामाजिक सुरक्षाको दायरा वृद्धि गर्न लागिएको छ । नीति र कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्छौं ।”

“ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवले भरिपूर्ण हुनुहुन्छ । उहाँहरूलाई सम्मानपूर्वक सुखी र सुरक्षित राख्ने काममा सरकार प्रतिबद्ध छ । संविधानमा सुनिश्चित भएका व्यवस्थाहरू कार्यान्वयन गर्ने हामी सबैको दायित्व हो,” उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter