तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ४४ लाखद्वारा यात्रा; देशभर ५५ वटा विमानस्थल, २४ मात्रै पूर्ण सञ्चालनमा


काठमाडौँ , पुस १६ गते । सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । मंगलबार काठमाडौँमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै महानिर्देशक अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको बताए ।

सन् २०२३ को नोभेम्बर सम्ममा तीन वटा विमानस्थलबाट आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ४१ लाख ५४ हजार ३९३ रहेको थियो । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको सङ्ख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए ।

उनले आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका छन् । सन् २०२३ को भन्दा यो सङ्ख्या करिब १३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इन्डियामा मर्ज भएपछि २८ मा झरेको छ । नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको महानिर्देशक अधिकारीले बताए । जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको बताए ।

हेलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमित हेलिकप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्र बाहेक) करिब ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ तथा यात्रु चार्टर उडानमा १ हजार १२० उडान सञ्चालन भएको बताए ।

महानिर्देशक अधिकारीले गत आ.व. २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको बताए । जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख भने ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख रहेको छ । गत वर्ष पुँजीगततर्फ नेपाल सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको जानकारी दिए ।

उनकाअनुसार कार्य सञ्चालन खर्चतर्फ ४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च १ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको बताए ।

महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजना बमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम प्रयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि कार्यलाई प्राथमिकता दिई क्षमता बिस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान राख्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सीवे निर्माण कार्य जारी रहेको बताए ।

देशभर ५५ वटा विमानस्थल, २४ मात्रै पूर्ण सञ्चालनमा

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार देशभर ५५ वटा विमानस्थल छन् । तीमध्ये २४ वटा मात्रै पूर्णरुपमा सञ्चालनमा छन् ।

१५ वटा विमानस्थल पूर्णरुपमा बन्द छन् । १६ वटा आंशिक सञ्चालनमा भने एउटा आन्तरिक विमानस्थल लामो समयदेखि निर्माणाधीन छ । केही विमानस्थल अझै अध्ययनको क्रममा छन् ।

सडक यातायातको पहुँच विस्तार तथा व्यावसायिक सम्भाव्यता अध्ययनविना हचुवाको भरमा गरिएको लगानीले राज्यको अर्बौँ रुपैयाँ खेर गइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुन् । यसका साथै नेपालगञ्ज, धनगढी, सुर्खेत, भरतपुर, जनकपुर, सिमरा, राजविराज, विराटनगर, चन्द्रगढी, भद्रपुर विमानस्थलमा नियमित उडान भइरहेको छ । यस्तै लुक्ला, जोमसोम, सिमिकोट, तुम्लिङटार, जुम्ला, डोल्पा, रामेछाप, फाप्लु, रारा, रुकुम सल्ले विमानस्थलमा पनि नियमित उडान छ ।

बाजुरा विमानस्थल, भोजपुर, रुम्झाटार, ताप्लेजुङ, खानीडाँडा, साँफेबगर, दाङ, थामखर्क, बझाङ, डोटी, इलाम, बैतडी, टिकापुर र गुल्मी विमानस्थल भने आंशिक सञ्चालनमा छन् । साना विमान सञ्चालनका लागि पर्याप्त पूर्वाधार भए पनि यात्रु अभावले यी विमानस्थलमा नियमित उडान भइरहेको छैन । टिकापुर र कमलबजारमा भर्खरै मात्रै परीक्षण उडान सम्पन्न भए पनि नियमित उडान छैन ।

१५ वटा विमानस्थल भने पूर्ण रूपमा बन्द छन् । दार्चुला, मेहन्द्रनगर, कालिकोट, मसिनेचौर, चौरजहारी, रोल्पा, ढोरपाटन, मनाङ, पालुङटार, मेघौली, जिरी, खिजी चिण्डेश्वरी, स्याङबोचे र खानीडाँडा विमानस्थल भने पूर्ण रूपमा बन्द छन् । यीमध्ये कतिपय विमानस्थलमा आधारभूत संरचना समेत छैन भने केहीमा टावर भवन र रेखदेखका लागि केही कर्मचारी छन् ।

अर्घाखाँची विमानस्थल भने लामो समयदेखि निर्माणाधीन छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर पटक-पटक निर्णय र अध्ययन भए पनि निजगढ निर्माणको चरण पुग्न सकेको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter