पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्त्व पाउँछ : प्रचण्ड; ‘अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझै बढी काम गर्नुपर्छ’: एमाले


काठमाडौँ, पुस १८ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्त्व दिइएको बताउनुभएको छ।

जनसांस्कृतिक महासंघले आज गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीसँगको भेटघाटमा उहाँले यस्तो जानकारी दिनुभएको हो।

‘आजदेखि निकै उत्साहपूर्ण रुपमा पार्टी स्थायी समितिको बैठक सुरु भएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी रुपान्तरण र पुनर्निर्माणको अभियानमा जाँदैछौं, यो बेलामा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ अघि सारिएको छ।’

पार्टीको स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहितको महत्वपूर्ण कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उहाँले यसले पार्टीभित्रको सांस्कृतिक रुपान्तरणलाई नयाँ आयाम दिने भएकाले त्यही अनुरुप राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई महत्व दिइएको बताउनुभयो।

पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै उहाँले यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो। त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने पनि उहाँले स्पष्ट गर्नुभयो।

महासंघका अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीले आफूहरुले गरेका सुधारका प्रयास र चुनौतीका बारेमा चर्चा गरेका थिए।

‘अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझै बढी काम गर्नुपर्छ’: एमाले

नेकपा एमालेले सरकारले ६ महिनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकलाई सेवा प्रवाह, विकास निर्माण साथै अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयाे ।

उहाँले राजनीतिक प्रतिवेदनका मुख्य विषयहरुमा छलफल भएको पनि जानकारी दिनुभयाे । उहाँले नेकपा एमाले र नेपाली काँग्रेसबिचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरुका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको र सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको बताउनुभयो ।

“सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य विषयहरूमा छलफल गरेका छौँ । प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ ।”

“बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले बढी ध्यान केन्द्रित गर्नुपर्छ । पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्ति लगायत सबै विषयमा छलफल भएको छ,” उहाँले भन्नुभयाे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter