गहुँ खेती छाडेर तोरी खेतीतिर आकर्षित


अविनाश चौधरी / धनगढी, पुस १९ गते । छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको भन्दै कुषकहरुले गहुँ घटाएर तोरी खेती बढाएका हुन् ।

भारततिरबाट आउने छाडा चौपायाले बर्सेनी हिउँदेबाली नोक्सान गर्न थालेपछि बाध्य भएर यसवर्ष तोरी खेतीमात्र गरेको कैलालीको कैलारी गाउँपालिका –३ भर्रीका कृषक जगदीश चौधरीले बताउनुभयो ।

“पहिले सबै खेतमा गहुँको मात्र खेती गर्दैआएको थिएँ” उहाँले भन्नुभयो, “पछिल्लो केही वर्षदेखि छाडा चौपायाले गहुँ खतमै पार्न थाले । गहुँ बचाउन मुस्किल भएकाले यसवर्ष तोरी खेती चुनें ।”

कैलालीमा छाडा चौपाया समस्या समाधान हुन सकेको छैन । विभिन्न स्थानीय तहले छाडा चौपाया व्यवस्थापनको नाममा करोडौं खर्च गरिसकेका छन् । तर समस्या अझै पनि न्यूनीकरण भएको छैन । छाडा चौपायाले खेतीपाती नोक्सान गर्ने गरेकाले धेरैजसो किसान हिउँदभरि खेतमै रात बिताउने गरेका छन् । उनीहरु रातभर जाग्राम बसेर चौपाया धपाउने काम गर्दैआएका छन् ।

छाडा चौपायाले किसानलाई हैरान बनाएको कृषक मक्कुराम चौधरीले बताउनुभयो । विकराल रुप लिँदै गइरहेको छाडा चौैपाया समस्या समाधानमा स्थानीय तह उदासिन देखिएको उहाँको गुनासो छ । विगतमा गहुँ खेती बढी गर्दै आउनु भएका चौधरीले यो वर्ष १० कट्ठा जग्गामा तोरी र त्यति नै जग्गामा गहुँ खेती गर्नुभएको छ ।

“पहिले गहुँ खेती बढी गर्ने गरेको थिएँ” उहाँले भन्नुभयो, “छाडा गाईगोरुले हैरान पारेपछि यो वर्ष गहुँ घटाएर तोरी खेती बढाएँ ।” खेतमा गहुँ घटेपछि चौपायाले तोरीलाई नछाडेको किसानको भनाइ छ । उनीहरुका अनुसार कलिलो तोरीलाई खाएका चौपायाले अचेल फूलेको तोरीमा हिडेर नोक्सान गरिरहेका छन् ।

कैलारी गाउँपालिकाको भर्रीसहित भितरिया, निमुवाबोझी, लालपुर, मोहनपुर, के गाउँ, शिवरत्नपुर, बैजपुर, भुइयाँफाँटा, रामपुरलगायतका विभिन्न गाउँका किसान छाडा चौपायाबाट पीडित छन् । उनीहरु खेतमा साना झुपडी बनाएर खेतमै बस्दैआएका छन् ।

गाउँ–गाउँका किसान चौपाया आउने नाकाका साथै आफ्ना खेतमा पनि जाग्राम बस्ने गरेको कैलारी गाउँपालिका –३ लालपुरका कृषक गुरीलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार भारततिरबाट चौपाया आउने नाकामा किसानहरु पालोअनुसार रातभरि जाग्राम बस्दै संयुक्त गस्ती गर्दैआएका छन् । त्यसैगरी, नाकामा पालो नपरेका किसान आफ्ना खेतमा जाग्राम बस्ने गर्दछन् ।

छाडा चौपाया समस्या बढेपछि आफूले पौने २ बिघा जग्गामध्ये १० कट्ठामा गहुँ र बाँकी सबै जमिनमा तोरी खेती गरेको चौधरीको भनाइ छ । गहुँ छाडेर किसान तोरी खेतीमा आकर्षित भएपछि कैलारीको विभिन्न गाउँका खेत अहिले पहेँलपुर बनेको छ । खेतैभरि तोरी फुलेको दृश्य लोभलाग्दो देखिने गरेको छ ।

कैलारी गाउँपालिकामा यसवर्ष अत्यधिक खेतमा किसानले तोरी खेती गरेको कृषि शाखा प्रमुख मैँया चौधरीले बताउनुभयो । “वडा नम्बर ४ त तोरी ब्लकजस्तै देखिन्छ” उहाँले भन्नुभयो, “तर, पालिकाको अनुदान छैन । किसान आफैले तोरी खेती बढाएका हुन ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter