पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो; विदेशी मुद्रा सञ्चिति पौने २३ खर्ब; मंसिरसम्म मूल्यवृद्धि ६.०५ प्रतिशत


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म सो बराबरको रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहको तुलनामा ४.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको वृद्धिदर भने २४.२ प्रतिशत रहेको थियो ।

यसमध्ये अमेरिकी डलरमा विप्रेषण आप्रवाह २।५ प्रतिशतले वृद्धि भइ ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ६६९ अर्ब ७७ करोड रहेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ७१ हजार ९७५ र १ लाख २ हजार ५४२ रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपालसँग पौने २३ खर्बको विदेशी मुद्रा, माग धान्ने अवधि घट्न थाल्यो

विदेशी मुद्रा सञ्चिति पौने २३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तमा यस्तो सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।

गत असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो भने कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । यो महिना सञ्चिति जम्मा १८ अर्ब रुपैयाँ मात्रैले बढेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको २० खर्ब ३३ अर्ब २७ करोड रहेको छ । असार मसान्तमा यो १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ४० अर्ब रुपैयाँ सञ्चिति छ । असार मसान्तमा यस्तो सञ्चिति १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

अहिले कायम रहेको सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । अघिल्लो महिना रहेको सञ्चितिले १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको थियो ।

पछिल्लो समय बढेको आयातका कारण सञ्चिति पर्याप्तता सूचक घट्न थालेको देखिन्छ ।

राष्ट्र बैंकको रिपोर्टमै देखियो उच्च मूल्यवृद्धि, मंसिरसम्म ६.०५ प्रतिशत

चालु आर्थिक वर्षको मंसिर महिनासम्म मुद्रास्फीति (समग्र मूल्यवृद्धि) दर ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत पुगेको हो ।

अघिल्लो वर्ष मंसिर मसान्तमा यो दर ४.९५ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.०० प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ भने र मसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको देखिएको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.५२ प्रतिशतले बढेको छ भने शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.८९ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको मुद्रास्फीति सबैभन्दा उच्च देखिएको छ । समीक्षा महिनामा उक्त प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत छ ।

त्यस्तै, मधेश प्रदेशको ६.७७ प्रतिशत, बागमती प्रदेशको ५.८४ प्रतिशत, गण्डकी प्रदेशको ४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । समीक्षा अवधिमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter