अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार नलाग्ने; प्रतिबन्धित औषधी बिक्री गरेको पाइए कारबाही गर्ने विभागको चेतावनी


काठमाडौं, पुस २६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्नेे घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘चश्माको कुरा गर्नुभएको छ । चश्मा दुई प्रकारको हुन्छ । एउटा फेसनसँग जोडिएको पनि हुन्छ । अर्को आँखासँग जोडिएको हुन्छ । आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौँ । अरु पनि उपचारात्मक सन्दर्भमा जति पनि सामानहरु बाहरिबाट किनेर ल्याउँछौँ, सहयोगबाट पनि ल्याउँछौँ । त्यस्ता सीमानमा भन्सार छुट गर्ने व्यवस्था छ ।’’

उहाँले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरुको भन्सार छुट गर्ने व्यवस्था रहेको बताउनुभयो । आँखाको उपचारसम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

‘‘उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्नेकुरा पनि महत्त्वपूर्ण विषय हो । उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरुले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरुमा, उपचार संस्थाहरुमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढङ्गबाट काम गराँै ।,’’ स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, ‘‘उपकरण थप गर्ने र व्यवस्थित गर्ने हामीले कोशिस गरौँ । पूर्वाधार विकासमा पनि व्यवस्थित गर्नेगरी हामीले अघि बढौँ । ठुला–ठुला भवनभन्दा साना–साना व्यवस्थित पूर्वाधार बनाएर हामी अघि बढ्नुपर्छ ।’’

मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको जानकारी दिनुभयो ।

प्रतिबन्धित औषधी बिक्री गरेको पाइए कारबाही गर्ने विभागको चेतावनी

औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ ।

विभागले पुस २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरु, न्युट्रास्युटिकल्सका नाममा तथा औषधी मिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भइरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ ।

अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधीहरु चिकित्सकीय पुर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको निरीक्षणका क्रममा पाइएको भन्दै यस्ता औषधीको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधी फर्माहरुलाई सूचित गरेको छ ।

विभागले नियमित अनुगमन भइरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा जफत तथा औषधी ऐन २०३५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेविरुद्ध न्यायालयबाट समेत मागदावी बमोजिम आदेश प्राप्त भएको भन्दै पटक पटक सूचना जारी गर्दा पनि कानुनविपरित गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएको छ ।

कतिपय चिकित्सकले आवश्यक मात्राभन्दा बढी भिटामिन तथा खनिज समिश्रित औषधी सिफारिस गर्ने गरेको गुनासो समेत मन्त्रालयले प्राप्त गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताउनुभयो । दर्ता र अनुमति दुवै नपाएका त्यस्ता औषधीका रुपमा सिफारिस गर्नु गैरकानुनी भएकाले बिक्री तथा सिफारिस गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक नारायण ढकालले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter