पृथ्वी जयन्तीमा राप्रपाको चियापान; वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख : लिङ्देन; सिद्धान्त मिल्नेसँग पार्टी एकता हुन्छ : कमल थापा


काठमाडौँ, पुस २७ गते। पृथ्वीनारायण शाहको ३०३ औँ जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा चियापान कार्यक्रम गरेको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका शीर्ष नेता उपस्थित हुनुभएको छ ।

भृकुटीमण्डपमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताले स्वागत गर्नुभएको थियो ।

चियापानमा प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्य, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता, पूर्व प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो ।

राप्रपा अध्यक्ष लिङ्देनको निमन्त्रणमा शीर्ष दलका नेतासँगै जलपान विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेसागत सङ्घसंस्थाका प्रमुख, कलाकार, खेलाडीसहित सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो ।

वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।

पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौँको भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रूपमा बोलाउनुपर्ने संसद् नबोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फ उन्मुख देखिएको टिप्पणी गर्नुभएको हो । देशलाई अध्यादेशको बाटोतर्फ लैजानुले सरकारको नियत स्पष्ट भएको बताएका हुन् ।

लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र समेत मास्न खोजेको आरोप लगाउँदै सशक्त प्रतिवाद गर्ने बताए । त्यस्तै उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिनु उपलब्धिपूर्ण रहेको भन्दै अर्को वर्ष सरकार आफैले दिवस मनाउनुपर्ने सुझाव दिए ।

जलपान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्रीहरू, विभिन्न दलका नेता कार्यक/\ता तथा शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।

सिद्धान्त मिल्नेसँग पार्टी एकता हुन्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने पनि बताएका हुन् ।

थापाले राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कूटनैतिक विषयमा जुन महत्त्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक रहेको उल्लेख गरे । उनले नेपाली नाम र पहिचान दिनुभएको भन्दै राष्ट्रनिर्माताप्रति कृतज्ञता व्यक्त गरे ।

उनले भने, ‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । हामीलाई नेपाली नाम र पहिचान दिनुभएकोमा राष्ट्रनिर्माताप्रति कृतज्ञता समेत व्यक्त गर्न चाहन्छु । राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कूटनैतिक विषयमा जुन महत्त्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक छ । हामी सबैले चिन्तन, मनन गर्नुपर्छ । एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर छोड्छु ।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter