सिद्धार्थ सुरुङ मार्ग सात महिनामै ‘ब्रेक थ्रु’; शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

तानसेन, माघ ११ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङ मार्ग सात महिनामै छिचोलिएको छ । मुख्य सुरुङ मार्ग निर्माण सुरु गरेको सात महिनामै ‘ब्रेक थ्रु’ गरिएको हो । मुख्य सुरुङ खनेको सात महिनामै उत्तर–दक्षिण मार्ग छिचोलिएको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

‘सबैको सहयोग र सहकार्यमा सात महिनामै सुरुङ मार्ग ‘ब्रेक थ्रु’ गर्न सफल भएका हौँ, अधिकारीले भन्नुभयो सबैको सहयोग भयो भने काम गर्न समय लाग्दैन भन्ने उदाहरण हो ।’ दुई वर्षअघिदेखि सुरुङ् मार्गको प्रारम्भिक काम भए पनि मुख्य सुरुङ खनेको सात महिनामै छिचोलिएको उहाँको भनाइ छ ।

सुरुङ मार्ग छिचोलिएपछि अब लाइनिङ र विद्युतीकरणको काम सुरु हुनेछ । सुरुङ मार्गको भित्री भागमा लाइनिङ र विद्युतीकरणको काम गर्न अझैँ दुई वर्ष लाग्ने आयोजनाको कार्यालयले जनाएको छ । यस्तै बाहिर भागमा पनि दुई वटा हेलिप्याडसहितको काम गर्न बाँकी छ । सुरुङ् मार्गको बाहिरी क्षेत्रमा वाल उठाउने, बाटो चौडा गर्ने, रक सेड र रकनेट गर्ने कार्य भइरहेको छ ।

सुरुङ् मार्गको दक्षितर्फ दुई हजार तीन सय वर्गमिटर र उत्तरतर्फ एक हजार एक सय वर्गमिटर रकनेट र रकसेड प्रविधिमा प्रोटेक्सनको काम हुने आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो । सुरुङ् मार्ग छिचोलिए पनि भित्र र बाहिरको कामले तीव्रता पाउने उहाँले उल्लेख गर्नुभयो ।

पाँच वर्षमा काम सक्ने गरी सरकारले वि.स. २०७८ फागुनमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्ट्रक्सन एण्ड इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता गरी काम थालेको थियो । सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाखमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

हालसम्म एक हजार एक हजार ८९ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । कुल एक हजार १२६ मिटर सुरुङ खन्नुपर्ने भएपनि एक हजार ८९ मिटरमै सुरुङ् जोडिएको आयोजनाका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

सुरुङ मार्गको हालसम्म मार्गको भौतिक प्रगति ४० प्रतिशत भएको छ । यस्तै वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । सुरुङको दक्षिणतर्फ ६१० र उत्तरतर्फ ४७७.२ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ ।

पहिलो बाइपास १५१ मिटर, दोस्रो १६१ र तेस्रो १३० मिटर लामा बाइपास टनेल छिचोलिएका छन् । सिद्धार्थ राजमार्ग बनेको ५० वर्षपछि यही मार्गको जोखिम मानिएको पाल्पाको तिनाउ–३, स्थित सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन सुरु गरिएको हो ।

सुरुङ् मार्ग छिचोलिएपछि पाल्पा तथा आसपासका नागरिकले खुसी व्यक्त गरेका छन् । वर्षात् र हिउँदमा पनि पहिरो र ढुङ्गा झर्ने जोखिम मोलेर यात्रा गरेका यात्रुले सुरुङ मार्ग बनेपछि दुर्घटनाको जोखिमबाट मुक्त भइने आशा गरेका हुन् । सिद्धार्थ राजमार्ग भएर हाल पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, रुपन्देही, बाग्लुङ्, पर्वतलगायतका नागरिकले यात्रा गर्दछन् ।

यसैबीच सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सहभागी हुनुभयो । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, चिनियाँ राजदूत चेङ् सोङ्लगायत सुरुङ् मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुनुभएको थियो ।

शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको शुक्रबार छिचोलिने काम (ब्रेक थ्रु) गर्नुहुँदै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गर्नुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवम् आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिनुभयो ।

यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग छिचोलिने काम भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter