राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने; नीति तथा कार्यक्रमको तयारीबारे प्रमुख दलका नेतासँग सभामुखको छलफल

काठमाडौँ, वैशाख ३१ गते । सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेस हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ ।

सङ्घीय संसद्को दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने अभ्यास छ । त्यसअनुरूप अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भोलि दिउँसो ३ बजे आयोजना हुने सङ्घीय संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो ।

सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार संयुक्त बैठकका लागि आवश्यक तयारी पूरा भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा उपस्थित हुन संसद् सचिवालयले उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत विशिष्ट अतिथिलाई निमन्त्रणा पठाएको छ । बैठकमा उपस्थित हुन राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यलाई सचिवालयले यसअघि सार्वजनिक सूचनामार्फत आमन्त्रण गरिसकेको छ ।

त्यस कार्यक्रममा सहभागी हुन संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उद्योगी-व्यावसायी, समाजका लब्धप्रतिष्ठित व्यक्ति र सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको सचिवालयले जनाएको छ । यसैबिच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारीले सरकारको नीति तथा कार्यक्रम जनजीविकाका सवाल र युवाहरूको विदेश पलायन रोक्ने, ग्रामीण क्षेत्रमा देखिएको विकाससम्बन्धी गुनासा सम्बोधन गर्ने गरी ल्याइनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकमा अब सरकारले केही गर्छ भन्ने भावना बोकेको नीति र कार्यक्रम आउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्छ भन्नुभयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रणकुमारी बलम्पाकीले सरकारको नीति तथा कार्यक्रममा युवाहरूको विदेश पलायन रोक्ने र स्वदेशमै रोजगारी सृजना गर्दै कृषि उत्पादनमा जोड दिने खालको आउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै विदेशबाट आयातित र विषादी मिसिएका दैनिक उपभोग्य सामान खपत गरिरहेका छौँ । अबका दिनमा स्वदेशी उत्पादनमै निर्भर भई स्वच्छ र स्वस्थ खाना खाने तथा निरोगी बन्ने नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्छ ।’’

नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्डुल लामाले नीति तथा कार्यक्रम विशेष गरी नेपाली किसान र मजदुरलाई केन्द्रित गरी ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशलाई कृषिमा आत्मनिर्भर तुल्याउने खालको नीति तथा कार्यक्रम हुनुपर्छ । कनिका छरेजस्तो नभई कृषि, पर्यटन, रोजगारी, जलस्रोत र पर्यटन क्षेत्रका लगानी गर्ने सुनिश्चित गरिनुपर्छ । साथै विज्ञान र प्रविधिलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।”

नीति तथा कार्यक्रमको तयारीबारे प्रमुख दलका नेतासँग सभामुखको छलफल

नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले सोमबार दिउँसो प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गर्नुभएको छ।

सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने सदनको संयुक्त बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गर्नुभयो।

उहाँले राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कूटनीतिज्ञलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न आग्रह गर्नुभएको छ।

सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताउनुभयो।

उहाँले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारु हुने उल्लेख गर्नुभयो। सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो।

रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राख्नुभयो। जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने जानकारी दिनुभयो।

सभामुखले सोमबार नै प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षसँग छलफल गरिसक्नुभएको छ। उहाँले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको छ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter