बेरोजगारीको कहर : रोपाइँ सकेर स्याउ टिप्न भारत लागे युवा

लखन चौधरी / धनगढी । धान रोपाइँ सकिए यता सुदूरपश्चिम प्रदेशको ग्रामीण भेगका युवाहरू धमाधम भारत पस्न थालेका छन् । रोपाइँपछि बेरोजगार युवाहरू सिजन अनुसारको कामको खोजीमा मजदुरी गर्न भारत पस्न लागेका हुन् ।

उनीहरू बर्सेनि यो बेला भारत पस्दै आएका छन् । रोपाइँ सकेपछि दसैँसम्मका लागि रोजगारी गर्न उनीहरू भारत जाने गरेका हुन् । अहिले त्रिनगर भन्सार नाका, गड्डाचौकी नाकामा भारत जाने नेपाली युवाको लर्को लाग्ने गरेको छ ।

कैलालीको कैलारी गाउँपालिका–९ का विन्दु चौधरी रोपाइँ सकेर भारतको हिमाचल प्रदेशको सिमलामा स्याउ टिप्ने काममा जाने तयारीमा छन् । उनी अरुबेला ईंटा बनाउने काम गर्छन् र सिजन अनुसारको खेतीपाती गर्छन् । तर रोपाइँपछि हुने बेरोजगारीको समयमा भारतमा मजदुरी गर्दै आएको उनले जानकारी दिए ।

कैलालीको गौरीगंगा नगरपालिका–१०, नुक्लीपुरका भागीराम चौधरी पनि स्याउ टिप्ने कामका लागि भारत जाने तयारीमा छन् । उनले भने, ‘रोपाइँपछि यता कामधन्दा केही हुँदैन । रोजगारी पनि छैन । केही कमाउने आसमा सिमला जाने तयारीमा छौँ ।’

भागीरामसँगै भारत जाने तयारीमा रहेका सुरेश चौधरी धान पाक्ने बेलातिर घर फर्किने बताउँछन् ।

आफ्नो गाउँबाट दर्जनौँ युवा कामको खोजीमा भारत जाने तयारीमा रहेको नुक्लिपुर होम स्टेका अध्यक्ष दिनेश दहितले जानकारी दिए । कैलाली र कञ्चनपुरको विभिन्न गाउँबाट अहिले युवाहरू छोटो अवधिको रोजगारीका लागि भारततर्फ जान थालेका हुन् । यहाँ रोजगारी नपाइने भएकाले तन्नेरीदेखि ६० वर्ष लागिसकेका व्यक्ति पनि मजदुरीका लागि भारत गइरहेका छन् ।

चार/पाँच महिना काम गर्दा चाडपर्व तथा घर खर्चको जोहो हुने हुँदा रोजगारीको लागि जाने गरेको उनीहरूको भनाइ छ । दसैँको बेलासम्म काम गर्दा ४०/५० हजार रुपैयाँ कमाउन सकिने उनीहरू बताउँछन् ।

समूह बनाएर नै धेरै मानिस कामको खोजीमा भारत पस्न थालेपछि कतिपय गाउँघरमा बालबालिका र वृद्धवृद्धामात्रै भेटिने गरेका छन् ।

उसो त सुदूरपश्चिमेलीहरू अहिले मात्रै होइन, बाह्रैमास कामको खोजीमा भारत जाने गरेका छन् । यहाँको ७ पहाडी जिल्लाकाका नागरिकहरू स्थानीयस्तरमा भरपर्दो काम नहुँदा भारतमै निर्भर छन् ।

तर, कति सङ्ख्यामा रोजगारीका लागि भारत जान्छन् भन्ने तथ्याङ्क छैन । हालसम्म कुनै पनि निकायले भारतमा काम गर्न जाने मजदुरको तथ्याङ्क राखेको भेटिन्न ।

कैलाली बहुमुखी क्याम्पस धनगढीका सहप्राध्यापक तथा अर्थशास्त्री डा. राजेन्द्रवीर चन्दले सरकारी रवैया र राजनीतिक दलका कार्यशैलीले जनतामा निराशा पैदा गरेको बताए ।

उनले भने, ‘राजनीतिक दल तथा नेताहरू परिवर्तनको नारा दिएर लामो संघर्ष गराए । तर परिवर्तन त जनताको नभई नेताहरूका लागि मात्र भयो,’ उनले भने, ‘जति जोगी आए पनि कानै चिरेको भनेजस्तै अवस्थाले युवा शक्ति कामका लागि विदेश पलायन भइरहेका छन् ।’

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter