एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा; चार वर्ष अघिकै स्थितिमा वैदेशिक व्यापार

काठमाडौँ , साउन ७ गते । आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गरेको छ । यस्तै नेपालबाट १ खर्ब ५२ अर्ब रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षमा नेपालको आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको थियो । यस्तै सो अवधिमा नेपालतर्फ १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ यता निरन्तर आयात र निर्यात घट्दै आइरहेको छ ।

चार वर्ष अघिकै स्थितिमा पुग्यो नेपालको वैदेशिक व्यापार

नेपालको वैदेशिक व्यापार लगातार दोस्रो आर्थिक वर्षमा पनि खुम्चिएको छ । आर्थिक वर्ष २०७८/७९ मा कीर्तिमानी आयात र निर्यात भएयता निरन्तर दोस्रो आर्थिक वर्षमा खुम्चिएको हो । सो आर्थिक वर्षमा नेपालले १९ खर्ब २० अर्ब रुपैयाँको आयात र २ खर्बको निर्यात भएको थियो ।

त्यसयता निरन्तररुपमा ओरालो लागेको वैदेशिक व्यापारले आर्थिक वर्ष २०८०/८१ सम्म पनि निरन्तरता पाएको हो । आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात र १ खर्ब ५७ अर्बको निर्यात भएको थियो । त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको आयात हुँदा १ खर्ब ४१ अर्बको निर्यात भएको थियो ।

तथ्याङ्कले नेपालको वैदेशिक व्यापार आर्थिक वर्ष २०७७/७८ कै स्थितिमा आइपुगेको देखाएको छ । सो आर्थिक वर्षमा पनि १५ खर्ब हाराहारीको आयात भएको थियो । यस्तै गत आर्थिक वर्षमा पनि १५ खर्बकै सीमामा बसेर आयात भएको छ । यद्यपि, सो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५३ अर्बको मात्रै वृद्धि छ ।

व्यापार घाटाको तथ्याङ्क

आयात घटेसँगै नेपालको व्यापार घाटा पनि खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा व्यापार घाटा खुम्चिएको हो । तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब रुपैयाँ छ । यस्तै अघिल्लो आर्थिक वर्षमा व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ थियो ।

तथ्याङ्कले नेपालको आयात र निर्यात नै खुम्चिएको देखाएको छ । यद्यपि निर्यातको तुलनामा ठुलो मात्रामा आयात खुम्चिँदा यसको प्रत्यक्ष फाइदा व्यापार घाटामा देखिएको हो । नेपालका लागि व्यापार घाटा घट्नु नै फाइदाजनक हुन्छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा ०.९६ प्रतिशतले व्यापार घाटा खुम्चिएको छ ।

यो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा १५ प्रतिशतले खुम्चिएको थियो । जबकि, २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा २३ प्रतिशतले व्यापार घाटा बढेको थियो । किनकि, सो आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार कीर्तिमानी रूपमा बढेको थियो । सो वर्ष आयात र निर्यात नै अहिलेसम्मको उच्च बिन्दुमा थियो ।

घट्यो भन्सार राजश्व

भन्सार राजश्व सङ्कलनको प्रवृत्तिले समेत नेपालको वैदेशिक व्यापार ४ आर्थिक वर्ष अघिको स्थितिमा पुगेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा भन्सार राजश्व ४ खर्ब २० अर्ब रुपैयाँ सङ्कलन भएको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा समेत ४ खर्ब २० अर्ब रुपैयाँ सङ्कलन भएको हो ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ४ खर्ब ८२ अर्ब रुपैयाँ राजश्व सङ्कलन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ७७ अर्ब रुपैयाँ भन्सार राजश्व भएको थियो । अघिल्लो वर्ष २०७९/८० को तुलनामा भने गत आर्थिक वर्ष २०८०/८१ मा भन्सार राजश्व सङ्कलन बढेको छ । यस अवधिमा ४३ अर्ब रुपैयाँले भन्सार राजश्व सङ्कलन बढेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter