एकता महाधिवेशनका लागि घलेको नेतृत्वमा बन्यो मूल आयोजक समिति

काठमाडौँ, माघ २१ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन भन्दै पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । घलेको नेतृत्वमा १५० जना अभियन्ता रहने गरी मूल आयोजक समिति बनाइएको हो ।
आइतबार बसेको उच्चस्तरीय समितिको सातौँ बैठकले विभिन्न समितिहरू पनि बनाउने निर्णय गरेको सदस्य बिनोद कुँवरले सोमबार बताए । उनका अनुसार कुल आचार्यको नेतृत्वमा आर्थिक, कुँवरको नेतृत्वमा एनसीसी समन्वय समिति, जानकी गुरुङको नेतृत्वमा प्रचार प्रसार र डेलिगेट्स मेम्बरसिपमा समिति बनाइएको छ ।
यस्तै सबै पक्षसँग एकताका लागि जीवा लामिछानेसहितको अर्को समन्वय समितिसहितका विभिन्न समितिहरु बनाइएको कुँवरले बताए । सबै पक्षबीच सहमति नभएपनि घलेले आगामी मेमा एकताको महाधिवेशन गर्ने समितिमार्फत निर्णय गरिसकेका छन् ।
विशेषगरी एनआरएनएको विवादमा गत चैत २१ मा सर्वोच्चले एकता महाधिवेशन गर्न फैसलापछि अर्को पक्ष आफूहरुलाई काम गर्न रोक लगाउने परराष्ट्रको चैत अन्तिम साताको पत्राचारविरुद्ध सर्वोच्च गएको थियो । जसअनुसार सर्वोच्चले ११ औँ महाधिवेशनबाट नेतृत्वमा आएका बद्री केसी नेतृत्वको एनआरएनएलाई काम गर्न गत साउनमा बाटो खुला गरेको थियो ।
सोही फैसलापछि केसी पक्षले आफूहरूले आधिकारिकता पाएको भन्दै घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएको छ । यस्तो अवस्थामा घलेले एकताको महाधिवेशनको मिति घोषणा गरेसँगै केही अन्योलता समेत उत्पन्न भएको छ । यस्तै केसीले पनि आगामी अक्टोबरमा महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् ।
तर, अनुसार चैत २१ गते फैसला भएको राजेश शमशेर राणाको मुद्दामा निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता सरोजकृष्ण घिमिरेले दोस्रो फैसला आएपनि पहिलो फैसला खारेज नभएकाले एकताको महाधिवेशन गराउने जिम्मेवारी घलेको समितिलाई नै भएको सोमबार आयोजित एक भर्चुअल कार्यक्रममा जिकिर गरे ।