प्रधानमन्त्रीद्वारा सङ्घीयता, सहकार्य र कानुनी समन्वयमा जोड

दिवाकर पोख्रेल / देउखुरी, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै सङ्घीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताउनुहुँदै उहाँले भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताउनुभयो । सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उहाँको भनाइ छ ।
उहाँले हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकको रूपमा व्याख्या गर्नुभयो । साथै सिद्धबाबा सुरुङमार्ग लगायतका योजनाहरूले यातायात सहज बनाउने बताउनुहुँदै प्रधानमन्त्री ओलीले रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्नुहुँदै मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । ‘‘यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन ।’’ उहाँले भन्नुभयो ।
सिँचाइ आयोजना सफल बनाउँदै कृषिलाई प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा गर्नुभयो । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपियाँ लागतमा बन्न लागेको पहिलो ठुलो पूर्वाधार हो । तर केन्द्र सरकारले एक हजार शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्नुहुँदै संघ, प्रदेश र स्थानीय सरकारबिच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘‘हामीले मिलेर यी स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ ।’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सहकार्यबाट मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।’’
प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोगमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन् । अरूले बनाएको चिज हो । डेटा अन्त जान्छ । प्रविधिको धेरै विकास भएको छ । ठीक सदुपयोग गर्न सक्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीलाई पार गर्न तीनै तहका सरकारहरूबिच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो । ‘‘हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं ।’’ उहाँले भन्नुभयो ।
साथै उहाँले प्रदेशहरूले कानुनी संरचना निर्माण गर्दा सङ्घीय सरकारद्वारा स्थापित मौजुदा कानुनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘‘संघ सरकारले बनाएका मौजुदा कानुनमा टेकेर प्रदेशहरूले विकास गर्नुपर्छ ।’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘प्रदेशहरूले आफैं कानुन बनाउँदा धेरै कानुन संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले मौजुदा कानुनहरूलाई आधार मानेर अघि बढ्न आग्रह गर्दछु ।’’