नदीमा छोडेका घडियाल गोही हराए
चितवन, १७ माघ । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही बर्सेनि विभिन्न नदीमा छाडिँदै गएको भए पनि यसको सङ्ख्या भने बढ्न सकेको छैन ।
सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा गोही प्रजनन केन्द्र स्थापना गरी निरन्तर यसको संरक्षणमा सरकार लागेको भए पनि नदीमा छाडिएका गोही दिनानुदिन घट्दै गएका छन् ।
नदीहरुमा प्रजनन हुने र सङ्ख्या बढ्नुपर्नेमा उल्टो छोडिएका गोही पनि हराउँदै गएका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काकाअनुसार हालसम्म छवटा नदीमा एक हजार ५६ वटा गोही छाडिसकिएको छ । राप्ती नदीमा ३७६, नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छाडिसकिएको छ ।
विगत १५ वर्षदेखि गोही संरक्षणमा कार्यरत खड्काकाअनुसार नेपालका नदीमा अहिले २०० को हाराहारीमा मात्र गोही रहेका छन् । यसमध्ये राप्ती र नारायणीमा १०० को हाराहारीमा रहेको अनुमान छ । कालीगण्डकी र सप्तकोसीमा गोही शून्य अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।
निकुञ्ज क्षेत्रमा बगेको नदीको स्थल मात्र गोहीको बासस्थानका लागि सुरक्षित रहेको उहाँले बताउनुभयो । नेपालमा सन् १९८१ बाट नदीमा गोही छाड्न सुरु गरिएको हो । प्रजनन केन्द्रमा हुर्काएका गोही नदीमा छाडिँदै आइएको छ । हरेक वर्ष विश्व सिमसार दिवस, वन्यजन्तु सप्ताहलगायतका दिवसका अतिरिक्त अन्य कार्यक्रम पारेर पनि नदीमा गोही छाडिँदै आएको छ । त्यसैका लागि हाल प्रजनन केन्द्रमा ६३१ वटा गोही रहेका छन् ।
नेपालका बासस्थान प्रदूषित हँुदै जानु र पानीको बहावसँगै भारततर्फ गोही जानुले दिनानुदिन उसको सङ्ख्या घट्दै गएको देखिएको छ । भारतीय संरक्षणकर्मीहरुले खिचेका गोहीका अधिकांश तस्बिर नेपालमा छाडिएका गोहीका हुने गरेको बताइएको छ ।
सहायक संरक्षण अधिकृत खड्काले भन्नुभयो – ‘‘दुई वर्षअघि हाम्रो सचिवले छाड्नुभएको गोही भारतमा पुगिसकेको छ । नेपालका नदीमा गोही छाड्दा नम्बर लगाएर चिन्न सकिने गरी छोडिँदै आएको छ । पानीको बहावसँगै जाने र ब्यारेज कटेर गएपछि फर्कन नसक्ने हँुदा नेपालमा गोहीको सङ्ख्या घट्दै गएको हो । सहायक संरक्षण अधिकृत खड्काकाअनुसार ७५ प्रतिशत गोही भारत जाने गर्दछ । माछा जता जान्छ गोही त्यतै जाने गर्दछ । यसकारण मानिसले जालमा पार्ने, घाइते बनाउने र मार्ने समस्या पनि देखिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल गोहीको बासस्थान मानवका कारण असुरक्षित बन्दै गएकै कारण संरक्षण गरेपनि सङ्ख्या बढाउन नसकेको बताउनुहुन्छ । माछा मार्ने, गिटी, ढुङ्गा, बालुवा निकाल्नेलगायतका कारण गोहीको बासस्थान असुरक्षित बन्दै गएको उहाँको भनाइ छ ।
एसियामा नेपाल र भारतमा प्रजनन केन्द्र खडा गरी घडियाल गोही संरक्षण गर्दैआएका कारण लोप हुनबाट बचेका छन् । तर अन्य देशमा घडियाल गोही लोप भइसकेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत खड्काले पाकिस्तानले कसरास्थित गोही संरक्षण केन्द्रबाट गोही लैजान अनौपचारिक रुपमा कुराकानी गरिरहेको छ । खड्काले भन्नुभयो – “औपचारिक रुपमा कुरा अगाडि बढाउन सुझाव दिएका छौँ ।”
सन् २००७ मा गोहीलाई सङ्कटापन्न जलचरका रुपमा घोषणा गरी सकिएको छ । खड्काले सामान्यतया सङ्कटापन्न घोषणा गरेको १० वर्षमा ५० प्रतिशत लोप भइसक्छ । त्यसैले पनि यसको सङ्ख्या बढाउन नेपालमा सबैतिरबाट सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो । रासस