• Thursday, May 29, 2025

राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण गरौँ– राष्ट्रपति डा यादव

president-ram-baran-yadav

काठमाडौँ, २९ असोज । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आर्थिक समृद्धि नै देशको महत्वपूर्ण गन्तव्य हो । त्यसका लागि एनआरएनएको महत्वपूर्ण भूमिका रहनेछ ।”

वैशाखमा गएको भूकम्पपछि विदेशमा रहेका नेपालीले उल्लेखनीय सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपति डा यादवले आगामी दिनमा भूकम्पपछिको पुनःनिर्माणमा एनआरएनएको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पले देशको जमिन चीरा परेको थियो, तर नेपालको मन एकताबद्ध भएको थियो । यसलाई समृद्ध बनाउन विश्वमा रहेको सम्पूर्ण नेपालीको अहम् भूमिका हुनेछ ।” राष्ट्रपति डा यादवले गैरआवासीय नेपालीको ज्ञान, सीप र प्रविधिको सहयोगबाट मुलुकको मुहार फेर्न सक्ने प्रशस्त सम्भावना रहेको पनि बताउनुभयो ।

सार्वभौम संविधानसभाबाट संविधान जारी गरी सात दशक लामो नेपालीको आकांक्षा पूरा भएको उल्लेख गर्दै उहाँले यो संविधानको कार्यान्वयनले साँचो अर्थमा लोकतान्त्रिक, सङ्घीय, समावेशी संविधानले सबै क्षेत्र, वर्ग र समुदायको सम्बोधन हुने बताउनुभयो ।

संविधानको कार्यान्वयन अत्यन्त अप्ठ्यारो रहेको बताउँदै उहाँले चुनौतीपूर्ण कार्यलाई सम्पन्न गर्न सबै राजनीतिक दलहरु जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियताको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “धोती, टोपी, लगौँटी, लुँगी, बक्खु, कछाड लगाउने हामी सबै एक हौँ । उनीहरु सबैको आवाज सम्बोधन हुने आशा लिएको छु ।”

राष्ट्रपति डा यादवले गैरआवासीय नेपालीलाई गाउँगाउँमा जान आग्रह गर्दै आर्थिक, सामाजिक सांस्कृृतिक अधिकारसहित गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने वैधानिक अधिकार उपलब्ध गराएकाले यसले देशको समृद्धिको सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति डा यादवले भन्नुभयो, “नेपालको कला संस्कृति र सभ्यतामा हामी गौरव गछौँ । यसलाई विश्वसमक्ष पु¥याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।”

त्यसैगरी, गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले समग्र मुलुकको हित र सामाजिक–आर्थिक रुपान्तरणमा एनआरएनएको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

परराष्ट्रमन्त्री थापाले भन्नुभयो – “ऐन, नियम बनाएर एनआरएनएलाई आफ्नो मातृभूमि नेपाल आवतजावत गर्न सहज बनाइएको छ । उद्योग व्यवसाय सञ्चालन गर्न पाउने, आर्जित नाफा लैजान पाउनेजस्ता व्यवस्था गरिसकिएको छ ।” मुलुकको आर्थिक कूटनीतिको कुशल अभियन्ताको रुपमा एनआरएनएलाई लिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

संविधान जारी भएपछि मुलुकमा न्यूनतम शान्ति, स्थायित्व र लगानीको वातावरण बनेको पनि उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्माले देश विकासका लागि काम गर्ने समय आएको उल्लेख गर्दै व्यवहारमा आर्थिक तथा शैक्षिक उन्नतिका लागि पहल आवश्यक भएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भूकम्पले थला परेको आर्थिक क्षेत्र बन्द हडतालले उठ्नै नसक्ने बनेको बताउनुभयो ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष शेष घलेले भूकम्पपछिको पुनःनिर्माण र मुलुकको नवनिर्माणमा एकताबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नुका साथै भावी कार्यक्रम तय गर्ने जनाइएको छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता छ । एनआरएनको ७१ मुलुकमा राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेका छन् ।रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter