कोरल्ला खोल्नेबारे मुस्ताङ–ढोङ्वासेनका अधिकारीबीच भेटवार्ता

Mustangपर्वत, २४ कात्तिक । नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरल्ला नाका सञ्चालन गर्ने बारेमा मुस्ताङका प्रशासक र तिब्बतको ढोङ्वासेनका अधिकारीबीच सोमबार मुस्ताङको लोमान्थाङमा छलफल भएको छ ।

वार्तामा तिब्बती पक्षबाट नेपालतर्फको सुरक्षालगायतका सबै पूर्वाधार पूरा गरेमा आफूहरु नाका खोली द्विपक्षीय व्यापार गर्न तयारी अवस्थामा रहेको जानकारी नेपाली टोलीलाई दिएका छन् । यसका लागि नेपालका तर्फबाट प्रक्रिया अगाडि बढाउन ढिलाइ नगर्न आग्रह गरेको नेपाली वार्ता टोलीका नेतृत्व गर्नु भएका मुस्ताङका प्रजिअ गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको कोरल्ला नाकाको भौतिक अवस्था (सडक र पूर्वाधार) बारे अध्ययन गर्न उपल्लो मुस्ताङ पुगेको प्रजिअको टोलीले चिनियाँ पक्षसँग भेटवार्ता गरेको थियो । नेपाल र चीनका बीचमा कोरल्ला नाका खोल्ने सहमति भएकाले अब पूर्वधारको विकास गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

यसैगरी नेपाली टोलीले कोरल्ला नाकाका बारेमा सडक र पूर्वाधारको अध्ययन गरेर फर्किएको छ । टोलीले जोमसोमदेखि कागबेनी, छुसाङ, चैले, झैते, घमी, चराङ, लोमान्थाङ, छोसेर र छोन्हुपदेखि कोरल्लासम्मको सडकको अवस्था अवलोकन गरेको थियो ।

तिब्बत नाका जोड्ने चैलेस्थित कालीगण्डकीमा पुल निर्माण छिट्टै सुरु गरेपछि कच्ची सडक सम्पर्क स्थापित हुनेछ । अहिले पनि नदीबाटै मालबाहक सवारी साधन र जिप ओहोरदोहोर गर्दै आएका छन् ।

चैलेदेखि समरको उकालोको सडकमा ठूला गाडी सञ्चालनका लागि मोड सुधार वा वैकल्पिक सडक निर्माण गर्नुपर्ने अवस्था देखिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

घमी खोला, चराङ खोला, लोमान्थाङ खोला छोसेर खोलामा पुल वा कलभर्ट बनाउनुपर्ने देखिएको छ । “सडकको स्तरोन्नति तथा भौतिक पूर्वाधार निर्माणको काम भएमा कोरल्ला नाका कम्तीमा आठ महिनामा सजिलै सञ्चालन गर्न सकिने देखिएको छ” – उहाँले भन्नुभयो ।

सीमा क्षेत्रमा पर्याप्त जग्गा भएकाले भन्सार तथा गोदाम, अध्यागमन, क्वारेन्टाइन, सीमा सुरक्षा, बैंकलगायतका पूर्वाधार निर्माणको तयारीमा लाग्नुपर्ने प्रजिअ अधिकारीको भनाइ छ ।

उच्च हिमाली क्षेत्र भएकाले त्यस क्षेत्रमा बढी चिसो हुने हुँदा विद्युत्लगायतका इनर्जीको उचित व्यवस्थापन गर्नुपर्छ । साथै नेपाली सेनाको पोस्ट उक्त क्षेत्रमा राख्ने योजना भएकाले पोस्टका लागि जग्गा पनि हेरिएको भीमदल गणका प्रमुख सेनानी अर्जुन बस्नेतले बताउनुभयो ।

तिहारलगत्तै नाकाको पूर्वाधारका लागि जग्गा प्राप्ति गर्न नापी टोलीलाई त्यसतर्फ पठाउने र नेपालतर्फको आन्तरिक पूर्वाधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायसँग समन्वय गरी छिटोभन्दा छिटो काम अगाडि बढाउने योजनामा रहेको प्रजिअ अधिकारीको भनाइ छ ।

मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटर उत्तरतर्फ अवस्थित कोरल्ला नाकालाई निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीको बेलहियादेखि लोमान्थाङसम्मको ४०६ किलोमिटर चीन र भारत जोड्ने छोटो दूुरीको कालीगण्डकी लोकमार्गले पनि समेटेको छ ।
कोरल्ला नाका सञ्चालनमा आउन सकेमा व्यापारमा भारतसँगको परनिर्भरता हट्ने, धौलागिरि क्षेत्र व्यापारिक केन्द्रको रुपमा विकास हुने मात्र नभई कालीगण्डकी करिडोरमा जलविद्युत् र पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter