कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास परियोजना सञ्चालन

Ilam mapइलाम, ८ मङ्सिर । कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास परियोजना नेपालको सहयोगमा मेची अञ्चलका चार जिल्लाका चार गाविसमा स्थानीयवासीको जीविकोपार्जन र संरक्षण कार्यक्रम सुरु गरिएको छ ।

कञ्चनजङ्घा भू–परिधि क्षेत्रमा पर्ने झापाको बाहुनडाँगी, इलामको माइपोखरी, पाँचथरको सिदिन र ताप्लेजुङको पापुङ गाविसमा परियोजनाले वन क्षेत्र समन्वय समितिको सहकार्यमा त्यहाँका स्थानीयवासीसँग प्रत्यक्ष जोडिएको जीविकोपार्जनसम्बन्धी कार्यक्रम सुरु गरेको हो ।

रामसार सन्धिमा सन् २०१२ मा सूचीकृत माइपोखरीको संरक्षण, यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका बोटबिरुवा, चराचुरुङ्गी, होमस्टे आदिको व्यवस्थापनसम्बन्धी कार्यक्रम सुरु गरिएको कञ्चनजङ्घा भू–परिधि परियोजनाका कार्यक्रम संयोजक डा यादव उप्रेतीले जानकारी दिनुभयो । यहाँ ठकठके पाहा, गलैँचे झ्याउ, दुई दर्जनभन्दा बढी प्रजातिका गुराँस, विभिन्न प्रजातिका चरासमेत पाइन्छन् ।

समुद्री सतहबाट करिब दुई हजार एक सय मिटरको उचाइमा रहेको धार्मिक तथा पर्यटकीयस्थलका रूपमा चिनिएको माईपोखरीको जैविक विविधता, धार्मिक तथा पर्यटकीय क्षेत्रको समेत विकास गरिने बताइएको छ ।

परियोजनाले रु ४० लाखको सहयोगमा यी गाविसमा कार्यक्रम सञ्चालन भएको हो । जिल्ला वन क्षेत्र समन्वय समितिको अगुवाइमा माईपोखरीमा जनचेतनामूलक कार्यक्रम, पानीको संरक्षण, वृक्षरोपण, होमस्टेको उचित व्यवस्थापनलगायतका विषयमा कार्यक्रम सञ्चालन गरिने जिल्ला वन कार्यालयका प्रमुख तीर्थराज जोशीले बताउनुभयो ।

त्यस्तै पाँचथरको सिदिनमा अर्गेलीको संरक्षण, बजार अध्ययन, यसमा संलग्न स्थानीयवासीको पहिचानलगायतका विषयमा सम्बन्धित वन क्षेत्र समन्वय समितिले कार्यक्रम अघि बढाउने कञ्चनजङ्घा भू–परिधि संयोजक उप्रेतीले जानकारी दिनुभयो । अर्गेलीले जीविकोपार्जनमा कत्तिको महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, बजार सम्भावना र यसबाट स्थानीयवासीलाई कत्तिको फाइदा पुगेको छ भनेर सिदिनमा अर्गेली छनोट गरेका हौँ, डा उप्रेतीले भन्नुभयो – “कार्यक्रम सञ्चालन भएको वर्ष थोरै बजेट भए पनि आगामी वर्ष बजेट तथा कार्यक्रम बढ्छ ।”

झापाको बाहुनडाँगीमा हात्ती आतङ्क बढेको भन्दै हात्ती नियन्त्रण गर्न मानव हात्ती द्वन्द्व निवारण कार्यक्रम सुरु गरिएको छ । हात्ती नियन्त्रणका लागि पहिलो चरणमा कागती, तेजपात, काँडेबाँस लगाउने कार्यक्रम छ, डा उप्रेतीले भन्नुभयो – “यसबाट पनि हात्ती नियन्त्रण गर्न सम्भव नभए काँडेतारको समेत व्यवस्थापन गर्छौं ।” हात्तीले नखाने र छिर्न नसक्ने खालका बोटविरुवाको वृक्षरोपण र संरक्षणमा स्थानीयवासी लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

ताप्लेजुङको पापुङमा जैविक विविधता संरक्षणका लागि विशेष कार्यक्रम सुरु भएको छ । नेपालकै पूर्वी सिमाना र कञ्चनजङ्घा भू–परिधिको उच्च क्षेत्र भएकाले जैविक विविधता क्षेत्रमा जोड दिइएको हो ।

वन तथा भू–संरक्षण मन्त्रालय, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहयोगमा बनेको कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास परियोजना नेपालले कञ्चनजङ्घा भू–परिधि क्षेत्र पर्ने भारत र भुटानमा पनि कार्यक्रम सुरु गरिसकेको जनाएको छ ।

जोगमाई खोलामा पुल निर्माण

निर्माण सम्पन्न भएको २० महिनापछि जोगमाई पुलको उद्घाटन गरिएको छ । गोर्खे र नयाँबजार गाविसबीचमा पर्ने जोगमाई खोलामा लगाइएको पुलको सोमबार इलामका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले उद्घाटन गर्नुभयो ।

रु एक करोड ४२ लाखको लागतमा बौद्ध निर्माण सेवाले पुल निर्माण गरेको हो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत जिविसले निर्माण गरेको पुलको लम्बाइ १६.५ मिटर र चौडाइ पाँच मिटर रहेको छ । पुल निर्माण भएपछि सोयाङ, नयाँबजार, जोगमाई, गोर्खे, पशुपतिनगरलगायतका गाविसका बासिन्दालाई आवतजावतमा सहज भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter