प्रधानमन्त्रीबाट नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान

PM Press Conference Indiaनयाँदिल्ली, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक वृद्धिका लागि स्थानीय र बाह्य दुवै लगानीकर्ता चाहिने बताउँदै विदेशी लगानीका हकमा नेपालमा भारतीय लगानीकर्ताले स्वाभाविक रुपले नै बढी लाभ प्राप्त गर्ने बताउनुभएको छ ।

भारतको छदिने राजकीय भ्रमणका क्रममा आज नयाँ दिल्लीमा नेपाल उद्योग वाणिज्य महासङ्घ र कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्री, भारतीय चेम्बर अफ कमर्स र असोचाम, भारतले आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले दुवै देशका निजी क्षेत्र र व्यावसायिक समूहले एकार्कालाई राम्रोसँग चिनेकाले भारतीय उद्यमीका लागि नेपाली उद्यमी विश्वसनीय व्यावसायिक साझेदार हुने स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो– “नेपाल तपाईंहरुलाई चाहन्छ र यसले धेरै कुरा दिन सक्छ ।” उहाँले केही वर्षयतादेखि नेपालले व्यापार र लगानी वातावरणमा सुधार र सहजीकरणका धेरै कदम चालेको, भन्सार महसुल घटाएको, कर प्रणालीलाई सहजीकरण गरेको र व्यापारसँग सम्बन्धित पूर्वाधारलाई केन्द्रित गरेको, निर्यात र आयातका नियम र विधिलाई उदार बनाएको र व्यापार सहजीकरणका उपायहरुलाई अवलम्बन गरेको जानकारी पनि दिनुभयो ।

उहाँले नेपालमा दर्ता भएका विदेशी कम्पनीले जमिन खरिद गर्न, आफ्नो स्वामित्वमा राख्न र बेच्न पाउने बताउँदै नेपाली र भारतीय लगानीकर्ताबीच कुनै विभेद नभएको स्पष्ट गर्नुभयो । नेपालको कानुनले कुनै पनि निजी उद्योगलाई राष्ट्रियकरण नगर्ने सुनिश्चित गरेको पनि उहाँले जानकारी दिनुभयो । नेपालले मुलुकका प्रमुख व्यवसायिक केन्द्रहरुमा विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापना गर्ने योजना बनाएको बताउँदै प्रधानमन्त्री ओलीले ती क्षेत्र धेरैजसो नेपाल–भारत सिमाना नजिकै रहने उल्लेख गर्नुभयो ।

नेपाल–भारतबीच दोहोर कर हटाउने सम्झौतामा हस्ताक्षर भइसकेको तथा नेपालमा श्रम लागत कम र प्रतिस्पर्धात्मक भएको बताउँदै उहाँले नेपाली जनता मिहिनेती र इमान्दार भएको भनी विश्वमै परिचित छन् भन्नुभयो । डाबर नेपाल, युनिलिभरका साथै दूरसञ्चार, बैंक र बिमा कम्पनीले नेपालमा राम्रो नाफा लिइरहेको उदाहरण पनि उहाँले दिनुभयो ।
उहाँले भन्नुभयो–“नेपालका धेरै उत्पादनहरुले विकसित देशहरुमा शून्य भन्सार महसुलको फाइदा उठाइरहेको परिप्रेक्ष्यमा नेपालमा लगानी र उत्पादन गर्नु भनेको विश्वव्यापी क्षेत्रीय र द्विपक्षीय प्राथमिकताका योजनाबाट फाइदा पाउनु हो, नेपाल क्षेत्रीय एकीकरणबाट फाइदा पाउने कुरामा विश्वास राख्छ ।”

नेपालले भारत, बङ्गलादेश र भुटानसँग मिलेर ऊर्जाका क्षेत्रमा उपक्षेत्रीयस्तरमा व्यापार, पारवहन, आपसी निकटता र सहयोगका क्षेत्रमा सुधारका काम गरिरहेको बताउँदै उहाँले भारतको प्रगतिले हामीलाई व्यवसाय, प्रविधि, सूचना प्रविधि, पूर्वाधारलगायत क्षेत्रमा प्रेरणा दिएको र नजिकको छिमेकीको नाताले नेपाल भारतबाट लाभान्वित हुन चाहन्छ भन्नुभयो ।

व्यवसाय र विकासका क्षेत्रमा भारत नेपालको मुख्य साझेदार हो भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘सबका साथ सबका विकास’ भनेर महत्वपूर्ण कुरा बताइसक्नुभएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । नेपालले खासगरी निर्माण, जलस्रोत, पर्यटन, सेवा, सूचना, प्रविधि, खानी र कृषिमा आधारित उद्योगका क्षेत्रमा लगानीलाई खुला गरेको बताउँदै उहाँले नेपालमा जलस्रोतको क्षेत्र अझ प्रमुख छनोट हुन सक्ने औँल्याउनुभयो ।

भारत सरकारले नेपाली निजी ऊर्जा प्रवद्र्धकहरुको पहुँच ठूलो भारतीय ऊर्जा बजारमा होस् भन्नाका लागि आफ्ना नीति र नियमको पुनरावलोकन गर्दै गरेको आफूले जानकारी पाएको पनि उहाँले बताउनुभयो । उहाँले नेपालमा पर्यटन लगानीका लागि एउटा आकर्षक क्षेत्र भएको बताउँदै भारतीय तीर्थयात्री, बिदा मनाउन चाहनेहरु र व्यावसायिक प्रतिनिधिमण्डलको नेपालमा आगमन बढिरहेको तर्फ ध्यानाकर्षण गराउनुभयो ।

नेपालले प्रमुख पर्यटकीय केन्द्र पोखरा र लुम्बिनीमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागेको जानकारी उहाँले दिनुभयो । नेपाललाई सन् २०२२ तिर विकसित मुलुकका रुपमा पुर्याउन नेपालले मानव संसाधन, संस्था र पूर्वाधारहरुमा ठूलो मात्रामा लगानी चाहेको बताउँदै आन्तरिक र वैदेशिक निजी क्षेत्रलाई नेपालका स्रोतसाधनमा लगानी गर्न, वस्तु र सेवा उत्पादन गर्न तथा रोजगारी सिर्जना गर्न आह्वान गर्नुभयो ।

वर्तमान सरकारले आफ्ना नीतिहरुमा सुधार गर्दै लगानीमा निजी क्षेत्रको उत्सुकताको अपेक्षा राखेको बताउँदै नेपालमा लगानीलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग दिन सरकार तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो– “साझा समृद्धिमा नै हाम्रो साझा भविष्य निहित छ, हामी सधैँका लागि असल मित्र हुन चाहन्छौँ आपसी हितका लागि सहयोग र सहकार्य गर्नाको कुनै विकल्प छैन ।”

सो अवसरमा आफ्नो प्रस्तुति दिँदै नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत डा राधेश पन्तले ऊर्जा, पर्यटन, शिक्षा लगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर भएको बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले भूकम्पपछिको पुनःनिर्माणका लागि छिटो काम गर्ने प्रविधिसहितको लगानी आवश्यक भएको उल्लेख गर्नुभयो ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भारतको आर्थिक विकासबाट नेपालीहरु प्रभावित भएकाले नेपालको आर्थिक विकासका साझेदार बन्न र त्यसका लागि लगानी गर्न भारतीय निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्रीका अध्यक्ष हर्षभद्रन नोटियाले दुई देशबीचको राजनीतिक सम्बन्ध सुधार भएकाले अब आर्थिक क्षेत्रमा सहकार्य बढ्ने बताउनुभयो । कार्यक्रममा उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद्, मुख्य सचिव डा सोमलाल सुवेदी, भारतीय आयुष राज्यमन्त्री पियुष दसानायके, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत रणजित रायलगायत हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter