परिवारबाट अपहेलित वृद्धवृद्धालाई वृद्धाश्रममा आश्रय !

old

 

(प्रशन्न पोखरेल)

आरुघाट (गोरखा), १३ फागुन । ‘न सकिन्छ गरिखान न सकिन्छ मरिजान बुढेसकालमा, छोरानाति कनकन गर्छन्, बुहारीले आँखा तर्छन् बुढेसकालैमा’ गायक बुद्धिसागर बस्यालले स्वर भरेको ‘मुरलीको धुन’ एल्बममा सजिएको यो गीतमा भनेजस्तै परिवारको अपहेलना र रेखदेख नपाएका भोजपुरका नरबहादुर कार्की अहिले गोरखाको तान्द्राङस्थित अमिलीचौरमा रहेको बूढीगण्डकी वृद्धाश्रममा बस्दै आउनु भएको छ ।

कार्कीका दुई छोरा, बुहारीका साथै नातिनातिना पनि छन् । “जेठो छोरा, बुहारीले मलाई वृद्धाश्रम ल्याएर उनीहरु घर फर्किए”, कार्कीले गुनासो गर्नु भयो, “छोराहरु भक्तपुरको घरमा बस्छन् । बुढेसकालमा म यो वृद्धाश्रममा जीवन काट्दैछु ।” उनका कान्छा छोरा सरकारी जागिरे छन् । “कहिलेकाहीँ जेठाले फोन गर्छ, हालखबर सोध्छ”, ८४ वर्षीय कार्कीले थप्नुभयो, “कान्छोले त फोन पनि गरेन ।” परिवारका सदस्यहरु सधैँ काममा व्यस्त भएकाले आफू वृद्धाश्रममा बस्न आएको कार्कीले बताउनु भयो ।

काठमाडौँकी मानकुमारी खकुरेल पनि वृद्धाश्रममा बस्दै आउनु भएको छ । उनका परिवारका सदस्य पनि विभिन्न काममा व्यस्त छन् । “बुढो भइयो । काम गर्न सक्दिनँ”, खकुरेलले भन्नु भयो्, “भजनकीर्तन गाउँदै बूढाबूढीसँग मिलेर बस्दा आनन्द छ । तर घरपरिवार सम्झेर कहिलेकाहीँ आँसु थाम्न सक्दिन ।” कार्की र खकुरेल मात्रै होइन हालै सञ्चालनमा आएको बूढीगण्डकी वृद्धाश्रम केन्द्रमा दुईजना वृद्ध र तीनजना वृद्धा बस्दै आएका छन् ।

वृद्धवृद्धाको हेरचाह सरस्वती श्रेष्ठले गर्दै आउनु भएको छ । बूढीगण्डकी किनारको सुन्दर, शान्त र फराकिलो चौरमा एकतले पक्की भवनमा वृद्धाश्रम सञ्चालनमा आएको हो । एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको वृद्धाश्रममा ३० जना वृद्धवृद्धा राख्न सकिने केन्द्रका अध्यक्ष चित्रकुमार श्रेष्ठले बताउनुभयो । वृद्धाश्रममा गोरखा, धादिङ र अन्यत्र जिल्लाका वृद्धवृद्धा बस्दै आएका छन् ।

स्थानीयवासी सुशीला खनालका अनुसार वृद्धाश्रम भनेको ‘मन्दिर’ भएकाले जो कोही पनि पूजाआजाका लागि आउन सक्ने छन् । स्थानीयवासीको आर्थिक सहयोगले वृद्धाश्रम भवन निर्माण गरिएको बताउँदै उहाँले भन्नु भयो, “गिट्टी कुटेर, पसिना चुहाएर जम्मा गरेको पैसाले वृद्धाश्रम बनेको हो । परिवारले हेलाँ गरेका र घरमा कोही नहुने आमाबुबालाई सम्मानले राख्छौँ ।” वृद्धवृद्धा ज्ञान र अनुभवको खानी भएकाले उनीहरुबाट धेरै ज्ञानगुनका कुराहरु सिक्न सकिने उहाँको धारणा छ ।

वृद्धाश्रमलाई स्रोत, साधनले सम्पन्न बनाउने काम सुरु भएको छ । स्थानीयवासी कृति श्रेष्ठले दराज हस्तान्तरण गरे भने साबित्री श्रेष्ठले भजनकीर्तनका लागि बाजागाजा प्रदान गर्नु भयो । वृद्धाश्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न गोरखा र धादिङका विभिन्न गाविसमा मुट्ठीदान अभियान सुरु गर्ने केन्द्रले तयारी गरेको छ । वृद्धाश्रम निर्माणका लागि सबैभन्दा धेरै स्थानीय समाजसेवी लक्ष्मीकिशोर श्रेष्ठले रु २५ लाख दान गर्नु भएको छ ।

पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठले पनि रु २५ लाख रुपैयाँ राज्यस्तरबाट बजेट दिएको केन्द्रले जनाएको छ । विसं २०६७ साल फागुन २२ देखि २९ गतेसम्म आयोजित श्रीमद्भागवत महापुराणबाट सङ्कलन भएको एक करोड ६५ लाख रुपैयाँबाट भवन निर्माण गरी वृद्धाश्रम सञ्चालनमा ल्याइएको केन्द्रका पूर्वसचिव मीनप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

वृद्धाश्रममा गाउँघरको वातावरण र रहनसहनको व्यवस्था गर्न ढिकी, जाँतो, अँगेना, कुटो, कोदालो, करेसाबारी, फूलबारी, एउटा दुहुनो गाई पाल्ने योजना केन्द्रको छ । चीनकाजी श्रेष्ठ, लक्ष्मीकिशोर श्रेष्ठ, पण्डित दिनबन्धु पोखरेललगायतको सक्रिय सहभागितामा वृद्धाश्रम सञ्चालनमा आएको हो । केन्द्रका पूर्वउपाध्यक्ष गणेश श्रेष्ठले भन्नुभयो, “चाहेर पनि छोराछोरीले रेखदेख गर्न नसकेका र असहाय वृद्धवृद्धालाई वृद्धाश्रममा आश्रय दिन्छौँ ।” रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter