• Friday, June 13, 2025

अघि बढ्यो खुला विश्वविद्यालय विधेयक

School

(प्रकाश सिलवाल)

काठमाडौँ, ७ वैशाख । मस्यौदा बनेको पाँच वर्षपछि खुला विश्वविद्यालयसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्को सम्बन्धित समितिको कार्यसूचीमा परेको छ ।

व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले ‘नेपाल खुला विश्वविद्यालय विधेयक, २०७२’ माथि आएका विभिन्न संशोधन र सुझावबारे आज समितिमा छलफल गरी अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ । सो विधेयक अघिल्ला शिक्षामन्त्री चित्रलेखा यादवले संसद्मा पेस गर्नुभएको थियो ।

आर्थिक, सामाजिक अवस्था, भौगोलिक विकटताजस्ता अवरोधका कारण उच्चशिक्षाको पहुँचबाट वञ्चितलाई सो विश्वविद्यालय प्रभावकारी हुने अपेक्षा गरिएको छ । हाल मुलुकमा नौ विश्वविद्यालय सञ्चालित छन् । यसका साथै मानित विश्वविद्यालयलगायत अन्य विश्वविद्यालय स्थापनाको चरणमा छन् ।

समितिका सदस्यले सो विधेयक ढिलै भए पनि संसद्मा आएका सकारात्मक ठान्दै कम खर्चमा नेपालका गरिब र विपन्न वर्गका विद्यार्थी र विदेशमा रहेका नेपालीले पढ्न पाउने गरी सो विश्वविद्यालय स्थापना गर्न सुझाव दिनुभएको छ ।

दुई दशकअघिदेखि नेपालमा खुला विश्वविद्यालयको बहस भए पनि पाँच वर्षअघि सरकारले यसका लागि पूर्वाधार समिति गठन गरी कानुनी र भौतिक तयारी गरेको थियो । खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने÷गराउने उद्देश्य प्रस्तावित सो विश्वविद्यालयको छ ।

खुला शिक्षा प्रणालीका नवीनतम शिक्षण विधि तथा प्रविधिका माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अनुसन्धान तथा अध्यापनद्वारा उच्च शिक्षामा सर्वसाधारणको पहुँच पु¥याएर मुलुकभर ज्ञान र सीपमा आधारित प्रविधियुक्त जनशक्ति तयार गराई राष्ट्रिय विकासमा दक्ष तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने सक्ने जनशक्ति आपूर्तिको उद्देश्य पनि विधेयकको छ ।

शिक्षा मन्त्रालयका सहसचिव डा डिल्लीराम रिमालले विश्वविद्यालय सञ्चालनका लागि जग्गा, इन्टरनेट, वेबलगायत पूर्वाधार तयारी भइरहेको जानकारी दिनुभयो ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले जहाँ बसेर पनि पढ्न सकिने वातावरणका लागि यस्ता विश्वविद्यालयको आवश्यकता छ भनी आफू स्वयम् पनि सुरुमा लागेको र गैरआवासीय नेपाली समेतको सक्रियताबाट यो चरणमा आइपुगेको बताउनुभयो ।

सांसद उमेश श्रेष्ठले गैरआवासीय नेपालीका अनुभव र लगानीलाई सदुपयोग गरी विश्वविद्यालय सञ्चालनमा ढिलाइ गर्न नहुने बताउनुभयो । सांसद प्रेम सुवालले भने गैरआवासीय नेपालीलाई विश्वविद्यालय सभामा सदस्य राखिने व्यवस्था हटाउनुपर्नेमा जोड दिनुभयो । सांसद धनीराम पौडेलले सबैजसो विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति वा शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था क्रमशः हटाउनुपर्ने धारणा राख्नुभयो ।

समितिले सभापति रञ्जुकुमारी झासहितको कार्यदललाई प्राप्त संशोधन र सुझाव समेटी प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ । पूर्वाधार समितिले काभ्रेपलाञ्चोकको बनेपामा करिब १४ रोपनी जग्गा विश्वविद्यालयका लागि लिइसकेको छ ।

समितिका सदस्य तथा खुला विश्वविद्यालयको परिकल्पनादेखि कार्यरत डा प्रमोद धितालले कानुन आउने र विश्वविद्यालय बन्ने काम चाँडै हुने भए पनि हालको कर्मचारी संयन्त्र हाबी हुने प्रवृत्तिबाट सोचेजस्तो काम नहुने गुनासो गर्नुभयो । पूर्वाधार समितिलाई सरकारले वार्षिक करिब रु डेढ करोड बजेट विनियोजन गर्दै आएको छ । डा धितालले भन्नुभयो – “झारा टार्ने ढङ्गले मात्र काम भएको छ, राज्यको रकम प्रयोजनहीन रुपमा खर्च गर्नु हुँदैन, हामी जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने अनुभव समितिमा रहँदा भएको छ ।’’

गैरआवासीय नेपाली रहेका ५६ भन्दा बढी देशबाट शैक्षिक एवम् विज्ञान÷प्रविधिका क्षेत्रमा आर्जित ज्ञान, सीप, पुँजी, अनुभव र अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध बढाई नेपालमा उच्च शिक्षाको विकासमा सहयोग गर्न सरकार र गैरआवासीय नेपाली सङ्घबीच सहमति भएको छ ।

सो विधेयकको प्रारम्भिक मस्यौदा गैरआवासीय नेपाली सहितका प्रतिनिधिको कार्यदलले विसं २०६७ मा तयार गरेको थियो । तत्कालीन शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लको कार्यकालमा खुला विश्वविद्यालयको अवधारणाबारे खुला तथा दूर शिक्षाका लागि अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष तथा क्यानडाको अथवास्का विश्वविद्यालयका अध्यक्ष डा फ्रिट्स प्यानिकोइकको उपस्थितिमा कार्यशाला समेत भएको थियो ।

त्यसबीचमा संविधानसभाको दोस्रो निर्वाचनको अवस्था र सरकार परिवर्तनको क्रम चलेपछि विधेयक थन्किएको थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter