‘पर्वतारोहणसँगै सरसफाइलाई पनि ध्यान दिनु जरुरी’

Everest Dayकाठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आव २०७३÷७४ को बजेटले नेपालको विकासलाई तीव्रताका साथ अघि बढाउन नयाँ दृष्टिकोण पेस गरेको बताउनुभएको छ ।

नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले आज यहाँ आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बजेटले हरेक क्षेत्रलाई उत्साहित बनाएको र पर्यटन क्षेत्रलाई पनि प्रोत्साहन थपेको उल्लेख गर्नुभयो । “ आगामी आवको नीति तथा कार्यक्रम र बजेटले हरेक क्षेत्रलाई उत्साहित बनाएको छ । यसको अर्थ भनेको सरकार देश विकासका निम्ति दृढ सङ्कल्प र अत्यन्तै सुदृढ अठोटका साथ लागेको छ । पर्वतारोहण, पदयात्रा लगायतका पर्यटन देश विकासका निम्ति आवश्यक र अपरिहार्य हुन, यसप्रति सरकार गम्भीर छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सगरमाथा नेपालीको मान, प्रतिष्ठा र पहिचान हो भन्दै सगरमाथालाई स्वच्छ राख्नु चुनौतीपूर्ण बनिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले विश्व तापमान वृद्धि हुँदा सगरमाथा लगायतका हिमालमा असर परेको छ, वातावरणीय सन्तुलन कायम गर्न सगरमाथाको प्रदूषण नियन्त्रण चुनौती बनेको छ । हामीले पर्वतारोहणसँगै सरसफाइलाई पनि ध्यान दिनु जरुरी छ ।”

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले नेपाल पर्वतारोहण, पदयात्रा तथा धार्मिक पर्यटनको प्रचुर सम्भावनालाई व्यावसायिक प्रवद्र्धन गर्न सरोकार भएका निकायबीच सहकार्य जरुरी भएको औँल्याउनुभयो । पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालको पर्यटकीय विशेषतालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन दिवस उपयोगी हुने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथा नेपालको मात्र नभई विश्वकै सांस्कृतिक सम्पदाको धरोहर भएकाले यसको संरक्षण प्रवद्र्धनका लागि साझेदारिताका साथ काम गरिनुपर्ने बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वमा फैलाउन दिवस सान्दर्भिक हुने बताउनुभयो । सगरमाथा आरोही पासाङतेन्जिङ शेर्पाले शेर्पा साथीहरुको कडा मिहेनतले वसन्त ऋतुको आरोहणको सफलता मिलेको छ भन्दै पर्वतारोहणलाई सुरक्षित र व्यवस्थित गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा यस वर्षको वसन्त ऋतुमा सगरमाथाको पहिलो सफल आरोहण गर्ने पासाङ तेन्जिङ शेर्पा सहित नौ शेर्पा आरोहीलाई रु ५० हजारसहित सम्मान गरिएको थियो । सम्मानित हुने अन्य आरोहीमा आङ्पेम्बा शेर्पा, ग्लाल्जेनदोर्जे शेर्पा, पासाङदोर्जे शेर्पा, मिङ्मा शेर्पा, निमाछिरिङ शेर्पा, आङ्ग्याल्जेन शेर्पा, शेराग्याल्जेन शेर्पा र लाक्पाछिरिङ शेर्पा छन् ।

सोही अवसरमा सगरमाथाअङ्कित हुलाक टिकटमा प्रथम टाँचा लगाइयो । यसअघि बिहान मूल आयोजक समितिको आयोजनामा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सामूहिक रुपमा त्रिदेवी मार्ग ठमेलदेखि नेपाल पर्यटन बोर्डसम्म प्रभातफेरी गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter