विद्यार्थीलाई यार्सागुम्बा सङ्कलनमा रोक

yarsaशेरबहादुर सिंह /भीमदत्तनगर, १८ जेठ । जिल्ला शिक्षा कार्यालय दार्चुलाले सङ्कलनको बहाना गरी विद्यालयको पठनपाठन बन्द गरेर हिमाली भेगतिर यार्सागुम्बा सङ्कलन गर्न जान शिक्षक तथा विद्यार्थीलाई पूर्णरुपमा रोक लगाएको छ ।

विगत वर्षमा यार्सागुम्बा सङ्कलन आम्दानीको राम्रो स्रोत बन्न थालेपछि दार्चुलाका ६० भन्दा बढी सरकारी विद्यालय बन्द गरी विद्यालय नै बन्द गरेर सङ्कलनमा जाने गरेका थिए । तर यसपटक शिक्षा कार्यालयले सरोकारावालसित आवश्यक समन्वय गरी यार्सा सङ्कलनका नाममा विद्यालय बन्द गर्न नपाउने निर्णय गरेको छ । उक्त निर्णयसँगै विद्यार्थी र शिक्षकको यार्सा सङ्कलन कार्यमा विराम लागेको छ ।

दार्चुलाका जिल्ला शिक्षा अधिकारी डा बाबुराम ढुङ्गानाले यार्सा सङ्कलन गर्न जाँदा विद्यार्थीको पठनपाठन प्रभावित हुने भन्दै सङ्कलनमा जान प्रतिबन्ध लगाएको बताउनुभयो । “मनग्य कमाइ हुन्छ भन्दैमा विद्यार्थीलाई पढाइबाट वञ्चित गराएर यार्सा सङ्कलनमा लैजान पाइदैँन,” उहाँले रासससित भन्नुभयो– “हामीले हरेक स्रोत केन्द्र र जिल्लाबाट विद्यालय बन्द भए–नभएको र विद्यार्थी यार्सा सङ्कलन गर्न गएकोबारे अनुगमन गरिहेका छाँैं ।”

विद्यार्थीको सट्टा उनीहरुका अभिभावकलाई यार्सा सङ्कलनमा जान शिक्षा अधिकारी ढुङ्गानाले सुझाव दिनुभयो । “महिनौसम्म यार्सा सङ्कलनमा जाँदा विद्यार्थीहरु बिरामी पर्ने गरेका पाइयो,” उहाँले भन्नुभयो– “हामीले जिल्लामा सरोकारवाला निकायसित समन्वय गरेर उक्त प्रतिबन्धको निर्णय लिएका हाँैं ।” गत वर्ष खण्डेश्वरी स्रोत केन्द्रअन्तर्गतका एकहजार ३०० बढी विद्यार्थी विद्यालय छाडेर यार्सा सङ्कलनमा गएको शिक्षा कार्यालयले जनाएको छ ।

“अध्यापन गराउन छाडेर जाने शिक्षकहरुमाथि पनि अनुगमन बढाएका छौंँ,” शिक्षा अधिकारी ढुङ्गानाले भन्नुभयो– “शिक्षकको काम अध्यापन गराउने हो, यार्सा सङ्कलनमा जाने होइन ।” दार्चुलामा यार्सा सङ्कलनका बेला एक दशकदेखि विद्यालय व्यवस्थापन समितिले नै बिदा दिने निर्णय गर्दै आएका थिए । तर यस वर्ष शिक्षाको तालिका अनुसार विद्यालयमा बर्खामा बिदा गरिने शिक्षा कार्यालयले जनाएको छ ।

“बर्खे बिदा अहिले नै लिएर यार्सा सङ्कलनमा जाने गरेको पाइयो,” उहाँले भन्नुभयो– “अबदेखि बर्खे बिदा बर्षातमै दिन्छौंँ ।” केही विद्यालयमा विद्यार्थी आउने क्रम घटेको खबर पाइएको र चाँडै नै ती विद्यालयको अनुगमन गरिने उहाँको भनाइ छ । यार्सा व्यवस्थापनका लागि गठित परिषद्ले नै यार्सा सङ्कलनका लागि जान परिचय पत्र९नागरिकता० मागेकाले विद्यार्थी सङ्कलनमा जान नपाउने शिक्षा अधिकारी ढुङ्गाना बताउनुहुन्छ ।

विद्यालय बन्द गरेर यार्सा सङ्कलनमा गइरहेका विषयमा शिक्षा अधिकारी ढुङ्गाना आफैले जिल्लाका विभिन्न विद्यालय तथा स्रोत केन्द्रको अनुगमन गरिरहेका छन् । विगतमा विद्यार्थी–शिक्षक यार्सा सङ्कलन जानेस्थलमा घुम्ती विद्यालय सञ्चालन गर्ने गहृकार्य समेत गरिएको थियो ।

अपि नाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले शिक्षा कार्यालयको निर्णयपछि स्कुले बालबालिका यार्सा सङ्कलनमा जान छाडेको बताउनुभयो । “यस वर्ष हिउँ कम परेकाले यार्सा पनि कमै भेटिएको छ भन्ने खबर आएको छ,” भर्खर लटिनाथ क्षेत्रको अनुगमन गरेर सदरमुकाम खलङ्गा फर्किएका चन्दले भन्नुभयो । सङ्कलित यार्सा जिल्ला बाहिर पैठारी गर्न प्रतिकिलो रु २५ हजार राजस्व बुझाउनुपर्ने उहाँले बताउनुभयो ।

उच्च हिमाली भेगमा पाइने जडीबुटी यार्सागुम्बाको सङ्कलन सुदूरपश्चिममा दार्चुला र बझाङमा हुन्छ । यार्सा सङ्कलन क्षेत्र दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्रमा पर्छ भने बझाङमा जिल्ला वन अन्तर्गत रहेको छ । गतवर्ष दार्चुलामा यार्सा सङ्कलन गर्ने सर्वसाधारणको सङ्ख्या करिब ३० हजार तथा बझाङमा २० हजार पुगेको थियो । दार्चुलामा साढे आठ क्विन्टल र बझाङमा तीन क्विन्टल ८० किलो यार्सागुम्बा सङ्कलन भएको बताइएको छ ।

यार्सा व्यवस्थापनका लागि गठित परिषद्ले सङ्कलनमा जाने व्यक्तिबाट प्रवेश शुल्क प्रतिव्यक्ति रु ५०० लिने गरेको छ । अहिलेसम्म दार्चुलामा पाँच हजारदेखि ६ हजार सङ्कलकसम्म हिमाली भेग पुगेका बताइएको छ । जिल्लाका खण्डेश्वरी, ब्याँश, राप्ला, घुसा, सुनसेरा र सित्तोला गाविस तथा बझाङको काँडा गाविसको उच्च हिमाली भेगमा बर्सेनी जेठदेखि असार अन्तिमसम्ममा यार्सागुम्बा सङ्कलन गरिँदै आएको छ ।

गत वर्ष सङ्कलन गरिएको यार्सा व्यापारीले सङ्कलकबाट प्रतिकिलो रु १२ लाखदेखि रु १५ लाखमा खरिद गरेका थिए भने रु २० लाखदेखि रु २५ लाख सम्ममा बिक्री गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter