धार्मिक पर्यटनको आकर्षण बढ्दो ; पर्यटक आगमनमा एकाउन्न प्रतिशतले कमी

File Photo of Pokhara

सिबी अधिकारी / काठमाडौँ, ९ साउन । विश्वमा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको नेपालमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरैको रोजाइँ पवित्र धार्मिक क्षेत्रको भ्रमण हुने गरेको पाइएको छ । लुम्बिनी, पशुपतिनाथलगायत पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाका कारण पर्यटक आकर्षित हुने गरेका छन् ।

विश्व सम्पदाका सूचीमा सूचीकृत १० सम्पदा क्रमशः पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण, वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज छन् । पर्यटकको रोजाइँमा रहेका यिनको अवलोकन भ्रमणमा आउने पर्यटको सङ्ख्या बर्सेनि बढ्दो छ ।

हिन्दू र वौद्ध धर्मका लागि नेपाल विश्वकै केन्द्रविन्दु हो । विश्वमा रहेका हिन्दूधर्मावलम्बी आफ्नो जीवनकालमा एक पटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् । त्यस्तै विश्वभरका बौद्ध धर्मालम्बी पनि गौतमबुद्धको जन्मस्थल पुग्ने इच्छा राख्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपालको पर्यटन तथ्याङ्क २०१५’ अनुसार नेपाल आउने पर्यटकको पहिलो रोजाइँ शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको देखिएको छ ।

सन् २०१५ मा एक लाख २९ हजार १८० जनाले लुम्बिनी घुमेका छन् भने सन् २०१४ मा एक लाख ३२ हजार ९२६ जनाले भ्रमण गरेका थिए । त्यस्तै पशुपतिनाथ मन्दिरको अवलोकन भ्रमणका लागि आव २०७२÷७३ मा करिब ९० हजार पर्यटकले भ्रमण गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार सबैभन्दा बढी गत आव २०७१÷७२ मा एक लाख ६६ हजारले भ्रमण गरेका थिए ।

भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा पर्यटकको भ्रमणमा ५३ प्रतिशतले कमी आएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । नेपालमा दुई खाले (भारतीय र तेस्रो मुलुक) का धार्मिक पर्यटक आउँछन् । भारतीय पर्यटक भारतको चारधाम घुमेर आएपनि नेपालको पशुपतिनाथको दर्शन नगरी अपूरो हुने विश्वासका साथ पशुपतिनाथ आउने गरेका टण्डल बताउनुहुन्छ ।

तेस्रो मुलुकका पर्यटक पशुपति क्षेत्रको जीवन्त सम्पदास्थलको अवलोकन, मठ, मन्दिर आदिको अवलोकन गर्न आउँछन् । अर्कोतर्फ धार्मिक सद्भावको महत्वका रुपमा पनि पशुपतिनाथको अवलोकन गर्ने गरेका छन् । “जीउँदो सम्पदाको अवलोकन, विभिन्न किसिमका धार्मिक गतिविधि, (चित्तामा लास जलेको) यस्ता चिज हेर्न धार्मिक पर्यटक आउछन्,”–उहाँले भन्नुभयो ।

धार्मिक पर्यटनका लागि भारत, श्रीलङ्का, मलेसिया, सिङ्गापुर, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायत मुलुकबाट पर्यटक आउने गरेका छन् । सम्पदा अवलोकनका लागि चीन, थाइल्यान्ड, जापान, युरोपलगायतका मुलुकबाट पर्यटक आउछन् । पर्यटन मन्त्रालयका अनुसार सन् २०११ मा एक लाख ४३ हजार ८८७, २०१२ मा एक लाख ३९ हजार ८८५ र सन् २०१३ मा एक लाख ५६ हजार ८५८ पर्यटकले पशुपतिनाथको भ्रमण गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा तीन लाख ८४ हजार ३२१ जनाले भ्रमण गरेका छन् । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० जना तथा सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटक भ्रमणका लागि आएका थिए । भूकम्प र नाकाबन्दीले अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले पर्यटक आवागमन घटेको छ ।

पर्यटक आगमनमा एकाउन्न प्रतिशतले कमी

भूकम्प र नाकाबन्दीको प्रभावका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा गत वर्षभन्दा ५१ प्रतिशतले कमी आएको छ ।

गत आवमा ८७ हजार ३९१ पर्यटक मात्र निकुञ्ज प्रवेश गरेका छन् । नेपाली पर्यटक ३० हजार ५९२, दक्षिण एसियाली मुलुकका ६ हजार ६०६ र अन्य मुलुकका ५० हजार १९३ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । अघिल्लो आव २०७१÷७२ मा एक लाख ७८ हजार २५७ पर्यटक निकुञ्ज भित्रिएका थिए ।

अघिल्लो आवमा नेपाली ३५ हजार ९२९, दक्षिण एसियाली मुलुकका १४ हजार ६८९ र अन्य मुलुकका एक लाख २७ हजार ६३९ पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए । आव २०७१÷७२ मा भन्दा आव २०७२÷७३ मा ९० हजार १६६ कम पर्यटक भित्रिएका निकुञ्जका रेञ्जर ऋषि ढकालले जानकारी दिनुभयो ।

पर्यटक घटेसँगै राजस्वमा समेत गिरावट आएको छ । गत आवमा रु ११ करोड ६७ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो भने अघिल्लो आवमा रु २४ करोड ६२ लाख ३७ हजार राजश्व सङ्कलन भएको थियो । पर्यटकले हात्ती चढ्ने, जिप सफारी, पैदल यात्रा, डुङ्गा यात्रालगायतबाट निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गर्ने गर्दछन् ।

यस्तै निकुञ्जको सुनाचुरी, खगेन्द्रमल्ली, सौराहा, घडगाई, कसरा, वनकट्टा, भिम्ले, लौखानी, अमलटारी र खुजौलीबाट पर्यटकले निकुञ्ज प्रवेश गर्ने गरेका छन् । निकुञ्जमा हात्ती चढेर गैंडा, बाघलगायतका दुर्लभ जनावर हेर्न, सङ्कटापन्न घडीयाल गोहीको अवलोकन गर्न, राप्ती नदीमा डुङ्गा सयर गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter