ऊर्जा सङ्कट कार्ययोजना कागजमा मात्र सीमित

Electricityरमेश लम्साल / काठमाडौँ, १३ साउन । दुई वर्षभित्र पूर्णरुपमा विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्यका साथ घोषणा भएको ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना, २०७२ को कार्यान्वयन प्रक्रिया सुस्त रहेको पाइएको छ ।

कार्ययोजनामा उल्लेख गरिएका अधिकांश बुँदाको कार्यप्रगति सुस्त गतिमा अगाडि बढेको र त्यसले लक्ष्य भेटाउन नसक्ने भएपछि सरोकार भएका निकायले चिन्ता व्यक्त गरेको छ । कार्ययोजनामा उल्लेख गरिएका कुल ९९ वटा बुँदामध्ये ६७ वटा बुँदा तीन महिनाभित्र प्रगतिको चरणमा पुग्नुपर्ने भएपनि कुनै प्रगति हुन सकेको छैन ।

व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा सरकारले घोषणा गरेको कार्ययोजनामा उल्लेख भएका कुनै पनि योजना कार्यान्वयन नभएको भन्दै त्यसबारे ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिरण र विद्युत् विकास विभागसँग जानकारी लिइएको हो । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सात मन्त्रालय, २२ विभाग र ३३ वटा कानुनमा टेकेर अगाडि बढ्नुपर्दा समस्या भएको भन्दै एकल डेस्कबाट गराउने लक्ष्यसहित सङ्कटकालीन कार्ययोजना अगाडि सारिएको हो । तर सरोकार भएका मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबीच पनि समन्वय हुन सकेको छैन ।

व्यवस्थापिका–संसद्को चालु अधिवेशनमा प्रस्तुत गर्ने भनिएको ऊर्जा सङ्कट विधेयकको मस्यौदा तयार हुन सकेको छैन । सो विधेयकको सहमतिका लागि अर्थमन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय चहारिरहेको छ । विद्युत् नियमन आयोग विधेयक, विद्युत् चोरी नियन्त्रण विधेयक तथा विद्युत् ऐनको कुनै तयारी गरिएको छैन ।

ऊर्जा मन्त्रालयले समितिमा पेस गरेको कागजातलाई आधार मान्ने हो भने अधिकांश बुँदामा कार्यप्रगति भइरहेको, प्रक्रियामा रहेको, अध्ययन भइरहेको जस्ता धारणा मात्रै देख्न सकिन्छ । वर्षायाम सुरु भएपछि भेलसँगै कार्ययोजना रुमल्लिएको भन्दै समितिले सङ्कटको अवस्थामा जुन गतिका साथ काम हुनुपर्ने हो त्यो हुन नसकेको भन्दै असन्तुष्टि जनाएको छ ।

आगामी हिउँदसम्म कुल १५० मेगावाट विद्युत् थप हुने बताइए पनि हालसम्म निजी क्षेत्रकाट मात्रै ३० मेगावाट विद्युत् थप हुने देखिएको छ । यस्तै केही महिनापछि थप ५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने देखिएको छ । आगामी हिउँदमा विद्युत्को माग बढेर एक हजार ४२५ मेगावाट विद्युत् पुग्नेछ । तर थप भएको विद्युत् प्रतिवर्ष थप हुने मागलाई सम्बोधन गर्न नसक्ने अवस्थामा रहेको छ ।

नेपाल र भारतबीच केही समय पहिले सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकले भारतबाट थप ३०० मेगावाट विद्युत् आयात गर्ने सहमति गरे पनि ढल्केबरमा सवस्टेसन निर्माण सम्पन्न हुने वा नहुने भन्न सकिने अवस्था छैन । कुशाहा–कटैया, रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम आगामी पुससम्म सम्पन्न गरिने बताइए पनि हालसम्मको कार्यप्रगति उत्साहजनक देखिएको छैन ।

प्राधिकरणले सौर्य ऊर्जाका लागि प्रस्ताव गरेको आशयपत्रमा समेत कुनै उत्साह देखिएको छैन । प्राधिकरणले ६४ मेगावाट सौर्य प्रणाली जडान गर्ने लक्ष्यसहित आशयपत्र माग गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्राप्त भएको आशयपत्र चित्त बुझ्दो र कार्यकारी नभएको बताउनुभयो ।

सङ्कटकालीन कार्ययोजना मन्त्रिपरिषद्बाट पारित भई लागू भएको पाँच महिना सात दिन पूरा भएको छ । तर विद्युत् विधेयकलगायत धेरै कानुनी पक्षहरुबारे समेत खास प्रगति हुन सकेको छैन । समिति गठन गरिएको, केही बुँदामा आधारित भएर सामान्य मस्यौदा पनि बनाइएको छ तर अझै संसद्मा पुग्न सकेको छैन ।

अधिकांश कार्ययोजनाको विषय छलफलमा मात्रै सीमित भएको छ भने कार्ययोजना कार्यान्वयनका लागि ऊर्जा मन्त्रालय, प्राधिकरण र विभागबीच नै समन्वय हुन सकेको छैन । समितिका सभापति गगन थापाले कार्ययोजनाका आधारमा कुनै पनि क्षेत्र अगाडि बढ्न नसकेको र केवल छलफलसम्म मात्रै सीमित भएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो – “कतिपय मन्त्रालय त हालसम्म पनि कार्ययोजना नपाएको, पत्र हराएको, कसरी अगाडि बढाउने हो भन्ने बारेमा समेत अन्तरसरकारी निकायबीच नै समन्वय हुन नसकेको पाइएको छ ।”

ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा कार्ययोजना कार्यान्वयनको चरणमा रहेको भन्दै आफू उत्साहित रहेको बताउनुहुन्छ । “कतिपय बुँदाहरु कार्यान्वयनमा प्रवेश गरेका छन्, तीन महिनाभित्र हुनुपर्ने कतिपय विषय रुपमा कार्यान्वयन नभएको जस्तो देखिए पनि सारमा ती विषय अगाडि बढेका छन् । सबै कार्यान्वयनमा जान्छन्,” उहाँले भन्नुभयो ।

बैठकमा समितिका सदस्य काशीनाथ अधिकारीले कार्ययोजनामा तीन महिनाभित्र सम्पन्न गर्छु भनेर प्रतिबद्धता व्यक्त गरिएका कतिपय विषय कार्यान्वयन नहुनु दुःखद रहेको भन्दै घोषणा केवल घोषणमा सीमित रहेको गुनासो गर्नुभयो । सांसद अमृतकुमार बोहोराले कार्ययोजना कार्यान्वयन गर्नेतर्फ सरकारी निकायले नै ध्यान नदिएको भन्दै छ महिना बित्न लाग्दासमेत कुनै प्रगति नहुनु गम्भीर कुरा भएको बताउनुभयो ।

समितिले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजना–२०७२ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानका लागि कानुनी आधार दिन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति थापाले कार्ययोजना कार्यान्वयन गर्न सहजीकरण गर्ने, समन्वय र अनुगमन गर्ने, नियमन र निर्देशन गर्ने जिम्मेवार निकायका रुपमा मन्त्रिपरिषद् रहेकाले कार्ययोजनामा उल्लेखित कार्यक्रमलाई समयसीमाभित्र काम गर्ने अवस्था सुनिश्चित गर्न र सम्बन्धित निकायले सोअनुरुप काम गरे नगरेको नियमित अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिइएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter