विश्व सम्पदास्थलको संरक्षण गर्न निर्देशन

Hanuman Dhokaकाठमाडौँ, १६ साउन । व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र सो अन्तर्गतका सरोकार भएका निकायलाई यस्तो निर्देशन दिएको हो । पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बीचबाट गुह्येश्वरी मन्दिरतिर जाने मोटर बाटो बन्द गरेर पैदलमार्ग मात्र कायम गर्न पनि समितिले निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक केन्द्र (युनेस्को) ले सो बाटो बन्द नगरे पशुपति क्षेत्रलाई विश्व सम्पदास्थलको कालो सूचीमा राख्ने तयारी गरेकाले छिटो बन्द गर्न बैठकमा सांसदले माग गर्नुभयो ।

बैठकमा संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले पशुपति, लुम्बिनी र जनकपुर क्षेत्रको विकासका लागि विस्तृत योजना ल्याउने तयारी भइरहेको जानकारी गराउनुभयो । “पशुपति क्षेत्र अन्तर्गत ६४ महादेव मन्दिर (शिव लिङ्ग) पर्छन्, यी सबै मन्दिरलाई पशुपति परिक्रमा (सर्किट) का रुपमा विकास गर्न सके धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ, पशुपतिलाई जीवित तीर्थस्थलका रुपमा विकास गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

गत वर्ष चैते दशैँमा मात्र मुक्तिनाथ मन्दिरमा एकै दिन १६ हजार भारतीय पर्यटक आएकाले लुम्बिनी, जनकपुर लगायत धार्मिक पर्यटकीयस्थलको प्रवद्र्धन गर्न सके नेपालीको आयआर्जन वृद्धि हुने मन्त्री पोखरेलको भनाइ थियो ।
मन्त्रालयका सचिव प्रेमकुमार राईले धार्मिक, सांस्कृतिक मठ मन्दिरमा धेरै समिति हुनाले विकास निर्माणमा समस्या आएको बताउनुभयो । “पशुपति, लुम्बिनी र जनकपुर लगायतका सम्पदा स्थललाई उत्तिकै महत्व दिने नीति छ”–उहाँले भन्नुभयो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले भूकम्पपछि पुनःनिर्माणमा पशुपति क्षेत्रलाई रु ५० करोड आवश्यक भएको बताउनुभयो । “गत आर्थिक वर्षमा पशुपतिका सम्पदाको पुनःनिर्माणमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु सात करोड दिने भनेकामा बजेट नै आएन”–उहाँले भन्नुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले लुम्बिनी क्षेत्रलाई व्यवस्थित बनाउने गुरुयोजना अनुसार काम भइरहेको बताउनुभयो । “लुम्बिनीमा चढाइने भेटीघाटी व्यवस्थित बनाइएको छ, लुम्बिनीलाई शान्ति नगरका रुपमा स्थापित गरिँदैछ”–उहाँले भन्नुभयो ।

बृहत्तर जनकपुर विकास परिषद्का कार्यकारी निर्देशक उमेश यादवले जनकपुर छायामा परेकाले राष्ट्रिय गौरवको आयोजना बनाई विकास गरिनुपर्ने बताउनुभयो । “जनकपुरका संरक्षित क्षेत्रको संरक्षण हुन नसक्दा चार सरोवर लुप्त भएका छन्, जनकपुरलाई पनि विश्व सम्पदा सूचीमा राखी यसको विकास गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले धार्मिक पर्यटन प्रवद्र्धनका लागि पशुपति, लुम्बिनी र जनकपुर लगायत धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले समेत महत्वपूर्णस्थलको विकासमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

समितिका सभापति प्रभु साहले पशुपति, लुम्बिनी, जनकपुर लगायत सम्पदास्थलमा गर्नुपर्ने सुधारका सम्बन्धमा यसअघि दिइएका निर्देशनका विषयमा भएका कामको प्रतिवेदन एक महिनाभित्र बुझाउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।

“जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा आवश्यक गृहकार्य गर्न संस्कृति मन्त्रालयलाई यो बैठकले निर्देश गर्दछ, गोकर्ण रिसोर्टको सेयर परिवर्तनका विषयमा आगामी बैठकमा ट्रस्ट र अन्य सरोकारवाला निकायलाई बोलाई थप छलफल गरिनेछ”–उहाँले भन्नुभयो ।

बैठकमा सांसद भरतबहादुर खड्का, प्रेमकिशोर साह, अशोकुमार मण्डल, लालबाबु यादव, सुरेन्द्रप्रसाद चौधरी, अञ्जनी श्रेष्ठ, केशरी घर्ती, पेम्बा लामा, लक्ष्मी राई लगायतले विश्व सम्पदा सूचीमा सूचीकृत सबै सांस्कृतिकस्थलको समानुपातिक विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

गोकर्ण रिसोर्टको सेयर

समितिको आजको बैठकमा गोकर्ण रिसोर्टको सेयर ‘एलएम सुविर ब्रदर्स’ (नेपाल) ले ‘यति होल्डिङ्स’का नाममा हस्तान्तरण गरेका विषयमा पनि छलफल भयो । छलफलमा नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव भीमप्रसाद उपाध्यायले ब्रदर्सले सेयर हस्तान्तरण ढिला भयो भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि पत्र प्राप्त भएको र प्रक्रिया अनुसार नै सेयर हस्तान्तरण भएको बताउनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले विदेशी कम्पनी नेपालमा दर्ता भए पनि सेयर निस्काशन गर्ने अधिकार नहुने बताउनुभयो । सो विषयमा थप छलफल गर्नुपर्ने भएकाले आगामी बैठकमा सरोकार भएकाहरुलाई बोलाएर निष्कर्षमा पुगिने सो अवसरमा जानकारी गराइयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter