बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल खण्ड निर्माण हुने

chakrapathकाठमाडौँ, १७ साउन । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि काठमाडौँ उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किमी चक्रपथ निर्माण हुने भएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले गत असार ११ गते चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आइतबार अन्तिम असहमति दर्ता गराउने दिनसम्म ९६ मात्र उजुरी परेकाले बाहिरी चक्रपथ बन्ने निश्चित भएको हो ।

आयोजना रोकिनका लागि कम्तीमा चार हजार असहमतिका उजुरी पर्नुपर्ने प्राधिकरणका शाखा अधिकृत ध्रुव सापकोटाले राससलाई जानकारी दिनुभयो । “चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित सात हजार व्यक्तिको जग्गा छ, यसको ५१ प्रतिशतले असहमति जनाएका भए बाहिरी चक्रपथको काम रोकिन्थ्यो, धेरैको सहमति भएकाले बाहिरी चक्रपथ बन्ने सुनिश्चित भएको छ”– उहाँले भन्नुभयो ।

बाहिरी चक्रपथको सडक ५० मिको हुनेछ । सडकका लागि प्राधिकरणले जग्गा अधिग्रहण गर्दैन । नमिलेको जग्गालाई योजनाबद्ध रुपमा विकास गरी समुदायलाई हस्तान्तरण गर्छ । जग्गा विकास गरिदिएबापत जग्गाधनीले बाहिरी चक्रपथ र जग्गा विकास गरिने ३.५ वर्ग किमी क्षेत्रमा छ, आठ र ११ मिटरका अन्य ती सहायक सडक निर्माणका लागि आवश्यक जग्गाको योगदान गर्नुपर्ने प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले बताउनुभयो । “असहमति जनाएका ९६ जना जग्गाधनीमध्ये अधिकांशले बाहिरी चक्रपथ निर्माण हुनुहुँदैन भन्ने नभई आयोजना छिटो सम्पन्न होस् र २० प्रतिशतभन्दा कम जग्गा काटियोस् भनी माग गर्नेको सङ्ख्या धेरै छ, पूर्ण रुपमा असहमति राख्नेको सङ्ख्या कम छ”– उहाँले भन्नुभयो ।

बाहिरी चक्रपथ निर्माण प्रक्रियामा चार वर्षअघि कीर्तिपुर नगरपालिकाका बासिन्दाले धेरै विरोध गरेका थिए । यस पटक कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ । यसबीचमा गत वर्ष आएको भूकम्प र प्राधिकरणले स्थानीयवासीमा जनचेतना जगाएकाले स्थानीयवासी सकारात्मक बनेका हुन् ।

सूचनामा सकारात्मक प्रतिक्रिया आएपछि छिटो गरी बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी निर्माण अघि बढ्ने भएको छ । बाहिरी चक्रपथको सो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिनेछ । यसअघि बाहिरी चक्रपथ निर्माणका लागि गरिएका प्रयासमा यही खण्डमा विवाद आएकाले काम रोकिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter