वैदेशिक रोजगारी मर्यादित र व्यवस्थित बनाउने कार्ययोजना पेस गर्न निर्देशन

Labor, Foreign Employmentकाठमाडौँ, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना पेस गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयलाई आज निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलका क्रममा प्रधानमन्त्रीले नेपालीले दुःख पाउने, उनीहरुको जीवन रक्षा नहुने र ठगीमा पर्ने अवस्थाको अन्त्यका लागि प्रभावकारी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको हो । मलेसिया र खाडीका विभिन्न देशमा सयौँ नेपाली कारागारमा रहेका, तीमध्ये केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको तथा केही कामदार ‘ब्लड मनी’ तिर्न नसक्दा आजीवन काराबास बस्न बाध्य भएको जनाउँदै प्रधानमन्त्रीले उनीहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने बारेमा समेत तत्काल पहल गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो – “खाडी क्षेत्रमा कामदारका रुपमा गएका नेपालीको समस्या समाधानका लागि पहल गर्न यसअघि नै मैले सम्बन्धित मन्त्रालयलाई भनेको छु । अब वैदेशिक रोजगारीलाई कसरी मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ, त्यसमा परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय मिलेर योजना र कार्यक्रम बनाउनुस् । सो कार्यक्रम पूर्ण रुपमा लागू गरिन्छ ।”

सरकारले आफ्नातर्फबाट गर्ने काम पूर्ण लगनशीलताका साथ गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले कुनै पनि कारणले नेपाली समस्या छन् भने त्यहाँ आवश्यक सहयोग पु¥याउनु सरकारको दायित्व हो भन्नुभयो । नेपालीलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउन सरकारले विशेष ध्यान दिएको र केही महत्वपूर्ण कार्ययोजना ल्याउने समेत प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।
छलफलमा सहभागी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक अधिकारीले विशेष गरी खाडी क्षेत्रमा कार्यरत नेपालीले भोग्नुपरेको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीले चासो राख्नुभएको जानकारी दिनुभयो । कारागारमा परेका, उद्धारगृहमा रहेका र ठूलो दुर्घटनामा परी अस्पतालमा उपचाररत कामदारलाई गरिने उद्धार, अवैध रुपमा कामदारको स्वदेश फिर्ती तथा प्रक्रियाका सम्बन्धमा समेत आफूहरुले प्रधानमन्त्रीलाई जानकारी गराएको उहाँको भनाइ छ ।

यस्तै नेपाली कामदार बढी रहेका मुलुकमा रहेका नेपाली राजदूतावासको क्रियाशीलता बढाउनुपर्ने, उनीहरुलाई साधन स्रोतसम्पन्न बनाउनुपर्ने र श्रम सहचारीलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित थियो ।

घरेलु कामदारका रुपमा विश्वका विभिन्न मुलुकमा रहेका महिला कामदारको सुरक्षा, उचित पारिश्रमिक, घाइतेको उपचार, भाषा लगायत समस्याका कारण खेप्नुपरेको समस्या समाधान गर्न अपनाइने विधि तथा कार्ययोजना पेस भएको र त्यसलाई थप समृद्ध पारिने सहसचिव अधिकारीले जानकारी दिनुभयो ।

छलफलमा नेपाली कामदार स्वदेशमा नै ठगिएको, रोजगारदाता मुलुकमा पुग्दा पुनः अर्को ठगीमा परेको, सम्झौता भएअनुसारको काममा नलगाइएको र गुनासो सुनुवाइ गर्ने निकायले समेत सुनुवाइ नगरेको सन्दर्भमा आगामी दिनमा यस्ता समस्या नआउने गरी काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

श्रम मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले रोजगारीका खोजीमा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको समस्याबारे मन्त्रालयले सूक्ष्म रुपमा नै अध्ययन गरिरहेको जानकारी प्रधानमन्त्रीलाई गराइएको बताउनुभयो । उहाँले भन्नुभयो – “प्रचारमा आए जस्तो भयावह अवस्था कुनै पनि मुलुकमा छैन तर पनि समस्या पर्नेबित्तिकै नेपाली दूतावास र सम्बन्धित सरोकार भएका पक्षलाई मन्त्रालयले ‘हाइ अलर्ट’मा राखेको छ ।”

स्वदेशमा नै हुने ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागलाई पनि क्रियाशील बनाउने विषयमा मन्त्रालयले पहल गरेको जानकारी आफूले प्रधानमन्त्रीलाई गराएको सचिव लम्सालले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले खाडीमा रहेका कामदारको अवस्था, समस्यामा परेका कामदारलाई उद्धार गर्ने विधि तथा के कति नागरिक विदेशका कारागारमा छन् र उनीहरुलाई कसरी स्वदेश ल्याउन सकिन्छ भन्नेबारेमा छलफल केन्द्रित रहेको बताउनुभयो ।

छलफलमा उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरा, श्रममन्त्री सूर्यमान गुरुङ, मुख्य सचिव डा सोमलाल सुवेदी र सम्बन्धित मन्त्रालयका सचिव तथा उच्च अधिकारीको सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter