• Monday, April 14, 2025

आज विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइँदै

Dashain Tikaकाठमाडौँ, २५ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको सन्देशमा अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

“विभिन्न जात जाति, समुदाय, भूगोल र धर्मावलम्बीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन् ।” सन्देशमा भनिएको छ – “विजयादशमीले हिमाल, पहाड, तराई÷मधेस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्नसमेत सफल रहोस् भन्ने कामना गर्दछु ।”

नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन पनि उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र हो बताउनुभएको छ ।

विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् भन्दै उहाँले सन्देशमा भनिएको छ – “विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।”

प्रधानमन्त्रीले दाहालले दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताउँदै सन्देशमा यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार हो भन्नुभयो ।

नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, सङ्घीयता, समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ, उहाँले सन्देशमा भनिएको छ – राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन ग¥यौँ, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ ।

प्रधानमन्त्रीले भूकम्पको पुनःनिर्माण र राष्ट्रिय नवनिर्माण पनि हाम्रा सामु चुनौतीपूर्ण अवसरका रुपमा उभिएको छ भन्दै हाम्रो एकता, सहकार्य र विविधताको आत्मसातीकरणले चुनौतीलाई अवसरमा बदल्न सकिन्छ र बदल्नुपर्दछ बताउनुभयो ।

चुनौतीलाई अवसरमा बदल्न दसैँलगायतका सांस्कृतिक पर्वहरुको भावात्मक भूमिका महत्वपूर्ण रहेको तथ्य हामीले बिर्सन मिल्दैन प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुनर्परिभाषित र पुनःसंस्कार गर्न जरुरी छ भन्दै सन्देशमा हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्नैपर्दछ बतउनुभयो ।

यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमुखी बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ उहाँले सन्देशमा भनिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter