नेपाल संवत् ११३७ र म्हः (आत्म) पूजा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

Nepal Sambatकाठमाडौँ, १५ कात्तिक । नेपाल संवत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”–उहाँले भन्नुभयो ।

विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।

नेपाल संवत्को नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा बिशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ सालमा नेपाल संवत्को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौँमा छ ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो म्हः (आत्म) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो ।

आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

नेपाल संवत् ११३७ मा प्रधानमन्त्रीको शुभकामना सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको मौलिक संवत् नेपाल संवत् ११३७, नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले नेपाल संवत्को उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ ।

सन्देशमा भनिएको छ– “नेपाल संवत् नेपालको मौलिक संवत् हो । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियान्ता शङ्खधर साख्वाःले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो ।’’ नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति साख्वाःले पु¥याउनुभएको योगदान सबैका लागि प्रेरणादायी भएको प्रधामन्त्रीले बताउनुभएको छ ।

सन्देशमा भनिएको छ– “आजको २१औँ शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न र देशको स्वाधीनताको रक्षा गर्न सकिन्छ ।”

नयाँ संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्ने प्रयोजनका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटिरहेकाले संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि यसले महत्वपूर्ण योगदान गर्ने आफूले विश्वास लिएको प्रधानमन्त्रीले बताउनुभएको छ ।

गणतन्त्र स्थापनापछि आफ्नै प्रधानमन्त्रीत्वकालमा नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा घोषणा गर्ने अवसर मिलेको स्मरण गर्दै अहिले नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको काँधमा रहेको सन्देशमा उल्लेख छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter