सहकारीबाट ऋण झिकेर व्यवसायमा लगानी गर्दै महिला

Women Enterpriseसुशीला रेग्मी / पाल्पा, २९ मङ्सिर । घरायसी काममा मात्र सीमित रहने पाल्पाका ग्रामीण भेगका महिला हिजोआज विभिन्न व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् ।

सधैँ घरायसी कामले बाहिर निस्कन नपाउने महिला गाउँगाउँमा सहकारी खुलेसँगै आयआर्जनका निम्ति सक्रिय बन्न थालेका छन् । सहकारीले विभिन्न व्यवसायका लागि बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेपछि महिलाको परनिर्भरता अन्त्य हुँदै गएको छ ।

श्रीमान्ले अर्की श्रीमती बिहे गरेपछि जीवन गुजाराका लागि रामपुरकी गीतादेवी विक ऋण झिक्न अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमा पुग्नुभयो । सहकारीले उहाँलाई बिनाधितो रु एक लाख ५० हजार ऋण सहयोग दिएपछि विकले कस्मेटिक पसल सुरु गर्नुभयो । आम्दानी बढ्दै गएपछि उहाँले कस्मेटिक पसलसँगै फेन्सी, सिलाइकटाइ पनि सुरु गर्नुभयो ।

बेलाबेलामा सहकारीबाट सहुलियत दरमा ऋण झिक्दै व्यवसाय बढाउँदा यथेष्ट आम्दानी हुन थालेपछि उहाँले चार जनालाई रोजगार समेत दिनुभएको छ । “यही व्यवसायबाट छोरीलाई स्टाफ नर्सको पढाइ खर्च जुटाए,” विकले भन्नुभयो– “मेरो जीवनको बाँच्ने आधार नै सहकारी बनेको छ ।” श्रीमानबाट सहारा नपाएकी विकले सहकारीबाटै ऋण लिएर घर निर्माण गर्नुभएको छ ।

त्यस्तै रामपुर कठानका टकादेवी भट्टराईले पनि सहकारीबाटै ऋण लिएर तरकारी, कुखुरापालन व्यवसाय र कस्मेटिक पसल चलाउँदै आउनुभएको छ । “पैसाका निम्ति सधँै श्रीमान्को भर पर्नुभन्दा आफँै उद्यमी बन्ने सोच राखेर व्यवसाय सञ्चालन गरेको छु,” उहाँले भन्नुभयो ।

सहकारीबाट ऋण झिकेर उहाँले तरकारीखेतीमा लगानी गर्नुभएको छ । तरकारीखेतीबाट आम्दानी बढ्दै गएपछि कस्मेटिक पसल र कुखुरापालन थाल्नुभएको छ । उहाँले करिब आठ रोपनी जग्गामा तरकारी लगाएर एउटा याममा रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्दैआउनुभएको छ ।

रामपुर बगरचोकका उर्मिला रानाले बिनाधितो अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले ऋण दिएपछि रु २० हजारको लागतमा होटल व्यवसाय चलाउनुभयो । सोही व्यवसायबाट अहिले उहाँले करिब रु ३० लाखमा घडेरी जोड्नु भएको छ ।

व्यवसाय गर्न चाहने महिलाका लागि सहकारीले सहुलियत दरमा बिनाधितो ऋण उपलब्ध गराउन थालेपछि धेरैजसो महिलाले आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेका छन् । एकल जीवन बिताउँदै आउनुभएका भीमा आलेलाई सहकारीले बाँच्ने आधार बनाइदिएको छ । रु १५ हजार ऋण लिएर व्यवसाय चलाउनुभएका उहाँले अहिले घडेरी जोड्न सफल हुनुभएको छ ।

गरिब, एकल, असहाय, दलित, विपन्न वर्गका महिलाका निम्ति सहकारीले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएपछि धेरै महिलाको सहकारीमा आकर्षण बढ्दो छ । अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमा आबद्ध करिब दुई हजार महिलाले कृषि, पशुपालन, विभिन्न पसल, होटल व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् ।

सहकारीले व्यवसाय गर्न चाहने महिलालाई बिनाधितो १२ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउँदै आएको छ । संस्थाले रु एक लाख ५० हजारसम्म बिनाधितो र त्यो भन्दामाथि व्यवसाय गर्नेका लागि परियोजना हेरेर धितो राखेर रु नौ लाखसम्म ऋण उपलब्ध गराउँदै आएको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताउनुभयो । सहकारीमा आवद्ध आठ हजार २६७ सेयर सदस्यमध्ये कारोबारमा महिला अगाडि छन् ।

ग्रामीण बचत तथा ऋण सहकारी संस्था गाडाँकोटका व्यवस्थापक चिरन्जीवी सिग्देल पीडामा परेका र केही गरेर देखाउने महिलाका लागि सहकारी सहारा बनेका छन् । बिनाधितो ऋण प्रवाहबाट जिल्लामा महिला उद्यमी बढ्दै गएको जिल्ला डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले बताउनुभयो । जिल्लामा हाल दर्ता भएका २७१ सहकारीमध्ये महिला सहकारी ४६ वटा रहेका उहाँले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter