आज क्रिसमस मनाइँदै; प्रधानमन्त्रीबाट क्रिसमसको शुभकामना

christmasकाठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज (२५ डिसेम्बर) देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।

आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिनुभयो । “हाल नेपालमा आठ हजार ५०० गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन्, विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिक स्थलमा पनि मनाइन्छ”– उहाँले भन्नुभयो ।

क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । ‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदैआएको छ ।

क्रिसमसको अवसर पारेर महासङ्घले आइतबार दिउँसो राष्ट्रिय नाचघरमा महोत्सव कार्यक्रम राखेको छ ।

प्रधानमन्त्रीबाट क्रिसमसको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।

सन्देशमा भनिएको छ – “यस अवसरमा सरकार सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहेको तथ्य स्मरण गर्न चाहन्छु ।”

संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु र हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु राष्ट्रिय आवश्यकता भएकामा प्रधानमन्त्रीले जोड दिनुभएको छ ।

सरकार संवाद र सहमतिका आधारमा उल्लिखित लक्ष्य हासिल गर्न क्रियाशील रहेको जनाउँदै सन्देशमा प्रधानमन्त्री दाहालले यस अवसरमा सम्पूर्ण ख्रीष्टियन समुदायसँग राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न अपिल गर्नुभएको छ ।

सन्देशमा भनिएको छ – हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter