हात्तीपोलो हेर्न यसपटक सौराहा आउनोस् ! (आलेख)

Hattipoloनारायण ढुंगाना / चितवन, १० पुस । सेल्फीकली र बिजुलीकली नयाँ छिन् । हात्ती महोत्सवमा उनीहरुको पहिलो प्रवेश हो । पवनकलीसहित पुनम, एलिसा, पुष्पा, लक्ष्मी, व्यूटी र समृद्धिकली अन्तर्राष्ट्रिय हात्तीपोलो खेलका पहिलो सहभागी बन्दैछिन् । विगत एक महिनादेखि तालिम दिइएकाले उनीहरु हात्तीपोलोका लागि खारिएका छन् ।

त्यसमध्ये सेल्फी, बिजुली, एलिसा र समृद्धि चलाख छिन् । ‘बिजुलीले त ह्याट्रिक नै गरिन्,’ प्रशिक्षण खेलका खेलाडी योगेश अधिकारीले भने – ‘पोलोमा यी हात्ती चम्किन्छन् होला ।’ यसपटक हात्ती महोत्सवकै लागि सेल्फीकली र बिजुलीकलीले डेब्यु गर्दैछिन् ।

सेल्फीकलीका माहुत सुकबहादुर गुरुङ भन्छन् – ‘हात्तीको मात्रै होइन, पोलोमा मेरो पनि पहिलो अनुभव हुँदैछ ।’

उनीहरुलाई प्रशिक्षण दिनेमा चितवन निकुञ्जका पुराना र पोलो खेलका अनुभवी खेलाडीहरु छन् । उनीहरुले विश्वमै पहिलो पटक चितवनको मेघौलीमा पोलो खेल हुँदा खेल्ने गरेका थिए ।

चितवन निकुञ्जका तर्फबाट सहभागी हुँदा उनीहरु अरुलाई ४–५ गोल उपहार दिएर पनि जित्ने गरेका पुराना खेलाडी राजेन्द्र पनुवार सुनाउँछन् ।

अहिले हात्तीपोलोका लागि ब्ल्यू प्लानेट, शारदा टुर, म्याम्स प्लाई, कुमारी बैंक, नेपाल स्पोटर््स कल्चर इन्टरनेशनल, कुमकुम सेरामिक्सले सहभागी जनाउन लागेको पोलो खेलका संयोजक शंकर सैंजु बताउँछन् ।

मान्छेले फुटबल, भलिबल, क्रिकेट, हक्की जस्ता खेल खेले जस्तै अजङ्गका हात्तीले पनि खेल खेल्छ । यो कुरा कतिलाई आश्चर्य पनि लाग्ला । चितवनमा हात्तीले पनि खेल खेल्छ । सोमबार पुस ११ देखि १५ सम्म चितवनको सौराहामा यी सबै दृश्य देख्न पाइन्छ ।

हात्तीले फुलबल खेल्छ, पोलो खेल्छ, ऊ दौड प्रतियोगितामा सहभागी हुन्छ । ऊ क्वाटवाक गर्छ, सुन्दरी प्रतियोगितामा सहभागी हुन्छ । यस्तै यस्तै दृश्यले पर्यटकलाई मनोरञ्जन दिने गरिएको छ यहाँ ।

विगत ४–५ वर्षदेखि स्थगित ऐतिहासिक खेल अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता समेत यस वर्ष सौराहामा हुन लागेकाले आकर्षण थपिएको छ ।

हात्तीमाथि मान्छे बसेर लठ्ठीको सहायतामा पोलो बललाई गोल पोस्टमा छिराएर खेलिने खेल हो हात्ती पोलो । बल जता जान्छ, हात्ती पनि उतै लान्छ ।

हात्तीमा बसेका मान्छेले पोलो स्टिकको सहायतामा बल हानेर गोल गर्ने प्रयत्न गर्छ । यो खेल सन् १९८२ मा विश्वमै पहिलो पटक चितवनको मेघौलीमा सुरु भएको थियो ।

निकुञ्जभित्रको होटल टाइगर टप्स हटेपछि चितवनमा हात्तीपोलो खेल धर्मराएर २०६९ सालदेखि अन्य जिल्लामा गयो ।

टाइगर टप्स होटलले व्यक्तिगत रुपमै पछिल्ला वर्षहरुमा नवलपरासी र बर्दियामा गर्दै आएपनि चितवनमा भने यो खेल स्थगित भएको थियो । ‘मेघौलीको पुरानै स्थानमा खेलाउन स्थानीय पर्यटन व्यवसायीहरुलाई आग्रह गरिएपनि नसकेपछि सौराहामा यो वर्ष ल्याइएको हो,’ पोलो संयोजक सैंजुले भने । होटल टाइगर टप्सका कर्मचारी रामसिंह गुरुङ पुरानै ठाउँमा खेलाउने प्रयास असफल भएको बताउँछन् ।

उनका अनुसार हर्स पोलोको सिको गर्दै टाइगर टप्सका संस्थापक जिम एडवर्ड र सहयोगी मोन क्लार्कले विश्वमै पहिलो पटक नेपालमा सन् १९८२ मा पोलो भित्र्याएका थिए । त्यो पनि चितवनको मेघौलीमै भएको थियो ।

हाल नेपाल, थाइल्यान्ड लगायत विभिन्न देशमा विव हात्तीपोलो एसोसिएसनले पोलो खेलाउँछ । पोलो सुरु भएको जिल्ला चितवनमा पोलो हराउन लागेकाले यसपालि ल्याइएको क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे बताउँछन् ।

थाइल्यान्डमा हात्तीहरु फलामे डोरीमा हिंड्छन्, पेन्टिङ्ग बनाउँछन्, टेबलमा बसेर नाच्छन् । अन्य विभिन्न गतिविधिमा सरिक हुन्छन् । तर त्यो तहमा नेपालमा हात्तीका खेलहरु हुन नसके पनि सौराहामा रोमाञ्चक खेल हुँदैआएको छ ।

यो वर्ष क्षेत्रीय होटल सङ्घ चिवतन सौराहाले संस्थागत रुपमा खेलाउन लागिएको पोलो दुई समूहमा ३÷३ वटा हात्तीलाई सहभागी गराइँदै छ । खेल १०÷१० मिनेटको हुन्छ । यही पुस ११ देखि १५ गतेसम्म चल्ने चितवन हात्ती महोत्सवको थप आकर्षण हात्तीपोलो प्रतियोगिता हुने पक्का छ ।

पोलो खेलका लागि स्टिक बनाउने, बल ल्याउने र हात्तीलाई सिकाउने काम चुनौतीपूर्ण बन्यो । क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनाल ठूलो सङ्घर्ष गरेर पोलो यसपालि ल्याइएको बताउँछन् ।

अमेरिकामा बस्ने नेपाली केमिका भण्डारीको पहलमा इंगल्यान्डबाट पोलो बल ल्याइएको छ । चितवनको काउलेबाट पोलो स्टिक ल्याइएको छ । संयोगवश भारतमा पोलो स्टिक बनाउने एकजना चितवनमा फेला पारेर स्टिक बनाउन दिइएको हो ।

अर्काे महत्वपूर्ण खेल हो हात्तीको छावाबीचको फुटबल । हात्ती आफैंले खुट्टाले हानेर फुटबल खेल्छ । यो झन् आश्चर्य र चाखलाग्दो हुन्छ । हात्तीले किपर छल्दै गरेको गोल अत्यन्तै रोमाञ्चक हुन्छ । छावाहरुको फुटबलमा आर्मी स्पोटर््स, सिजी फुड्स, प्रभु बैंक र अर्घाखाँची सिमेन्ट स्पर्धामा छन् ।

हात्ती महोत्सवअन्तर्गत हात्ती फास्ट वाक, गाडा, डुङ्गा दौड, हात्ती सुन्दरी प्रतियोगिता हुँदैछ । यो मौसममा पर्यटकहरु आ–आफ्नो घर फर्कने भएकाले त्यसलाई रोक्न १२ वर्ष अघिदेखि हात्ती दौडको रुपमा आयोजना गरिएको यो कार्यक्रम चितवन हात्ती महोत्सवसम्म आइपुगेको छ ।

हात्तीलाई कजाउने मात्रै होइन, खुवाउने पनि हो भनेर पिकनिकको पनि आयोजना गरिँदै छ ।

सुरुसुरु मै यो अभियानमा लागेकामध्ये एक गिरीधारी चौधरी अहिले हात्ती महोत्सवसम्मको आयोजना भएको देख्दा खुसी लागेको बताउँछन् । तर जनावरका अधिकारको वकालत गर्ने कतिपयले हात्तीका गतिविधिलाई जनावरको अधिकारसँग जोडेर खेलकुदमा सहभागी गराउन नहुने बताइआएका छन् । तर क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष शंकर सैंजु ढड्डी र साल रुखका भएको छुट्टै प्रकृतिको यहाँको वन भएकाले हात्तीमा चढेर बाघ गैंडा हेर्नुपर्ने विशिष्ट अवस्था रहेको बताउँछन् । यसैले चितवनमा हात्तीको छुट्टै महत्व देख्ने उनी जनावरको अधिकार संरक्षण गर्दै मानिस र हात्तीबीच सम्बन्ध बढाई पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा हात्तीका गतिविधि समावेश गर्न खोजिएको तर्क अघि सार्छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter