भूकम्प अतिप्रभावित जिल्लामा ४१ हजार ३११ घर पुनःनिर्माण

Nepal Reconstruction Authorityकाठमाडौँ, १० पुस । भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३११ घर पुनःनिर्माण भएको र १७ हजार १४४ घर पुनःनिर्माणका क्रममा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरण गठन भएको एक वर्ष पुगेका अवसरमा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । भौतिक संरचनाको पुनःनिर्माणमा प्राधिकरणले निजी आवासलाई विशेष प्राथमिकता दिएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।

“भूकम्पको मारमा परेका अतिप्रभावित १४ जिल्लाका छ लाख २६ हजार ३६ घरधनी घर पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भएका छन् । पुस ८ गतेसम्म पाँच लाख ४३ हजार १०७ घरधनीले अनुदान सम्झौता गरेका छन् भने चार लाख ५८ हजार ५९२ घरधनीले अनुदान रकम प्राप्त गरी घर पुनःनिर्माण गर्ने वातावरण बनेको छ”– उहाँले भन्नुभयो ।

भूकम्पबाट कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढेको छ । घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा दुई लाख चार हजार १७७ वटा गुनासा स्थानीय तहमा दर्ता भएका छन् । प्राधिकरणमा एक लाख सात हजार गुनासा प्राप्त भएको छ ।

प्राधिकरणमा प्राप्तमध्ये ७९ हजार ३२२ वटा गुनासाको पुनरावलोकन भएको छ । जसलाई नयाँ अनुदान कार्यविधि पारित हुनासाथ प्रकाशन गरिने प्राधिकरणले जनाएको छ ।

क्षतिग्रस्त पुरातात्विक सम्पदामध्ये १५ वटाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । ६९ वटा सम्पदाको पुनःनिर्माण कार्य जारी छ । चालु आर्थिक वर्ष २०७३÷७४ भित्रै थप ७४ वटा सम्पदाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।

अत्यावश्यक सेवा भएकाले २०० वटा स्वास्थ्य केन्द्रको ‘प्रिफेब्रिकेटेड’ संरचनामा पुनःनिर्माण सम्पन्न भइसकेको र १६९ वटा स्वास्थ्य केन्द्रको पुनःनिर्माण जारी छ । चालु आवभित्रै २६८ वटा स्वास्थ्य केन्द्रको पुनःनिर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

ध्वस्त भएका ३२ वटा सरकारी भवनको ‘प्रिफेब्रिकेटेड’ संरचनामा पुनःनिर्माण सम्पन्न भएको छ । २२८ वटा सरकारी भवन पुनःनिर्माणको चरणमा छन् । चालु आवभित्रै केन्द्र र जिल्ला तहका स्थायी एवम् ‘प्रिफ्रेब्रिकेटेड’ गरी ५०७ भवन पुनःनिर्माण गर्र्ने लक्ष्य लिइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

प्राधिकरणले २०० विद्यालय पुनःनिर्माण गरेको छ भने एक हजार २०० प्रक्रियामा छन् । २०७४ साल कात्तिकभित्र दुई हजार ३०० विद्यालयको मर्मतसम्भार एवम् पुनःनिर्माण सम्पन्न गरिने छ । २९७ वटा खानेपानी आयोजना पुनःनिर्माण भएको छ । हाल ९६१ आयोजनाको पुनःनिर्माण जारी छ । सडक, जलविद्युत्, उद्योग, जीविकोपार्जनलगायतका क्षेत्रमा पनि काम भइरहेको प्राधिकरणको भनाइ छ ।

‘अझ राम्रो र बलियो बनाऔँ’ भन्ने अवधारणामा आधारित भई एकीकृत सघन बस्तीको विकासमा स्थानीय समुदायलाई प्रोत्साहित गर्न पूर्वाधार विकास सरकारले गरिदिने निर्णय भएको छ । जसअनुसार यस आवमा २५ वटा वस्तीको योजना तयारी गरिनेछ ।

उपत्यकाभित्रका सातवटै विश्व सम्पदा क्षेत्र र गोरखा एवम् नुवाकोट दरबार क्षेत्रको बृहत्तर विकासका निम्ति गुरुयोजना तयारी कार्य अघि बढेको छ । गठन भएको वर्ष दिन पुगेका अवसरमा प्राधिकरणले पुनःनिर्माण र पुनःस्थापना कार्य तालिकासहितको स्पष्ट खाका बनाएको जनाएको छ । प्राधिकरणको अबको मूल्याङ्कनको आधार यही खाका हुने ज्ञवालीले बताउनुभयो ।

भूकम्पपीडित घरधनीलाई रु तीन लाख उपलब्ध गराउने गरी अनुदान वितरणसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृतिका क्रममा छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter